काठमाडौँ, । सरकारले सन् २०५० सम्ममा मुलुकलाई क्षयरोग मुक्त घोषणा गर्ने लक्ष्य लिएको छ ।
क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत अहिले १२५ स्थानीय तहमा क्षयरोगको पहिचान, निदान र उपचार सेवाको सुधार गरिएको विश्व क्षयरोग दिवसको अवसरमा आज भक्तपुरमा आयोजित पत्रकारसम्मेलनमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठले जानकारी दिए ।
अभियान क्रमश: ७५३ वटै स्थानीय तहमा लागु गरिने छ ।
उनका अनुसार गत आर्थिक बर्ष २५ स्थानीय तहबाट शुरु गरिएको क्षयरोग मुक्त नेपाल अभियान यसआवमा सय स्थानीय तह थप गरिएको छ । उनले समुदायको सक्रियतामा सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल बनाउने र क्षयरोगको निदान उपचारमा लाग्ने आर्थिक व्ययभारलाई शून्यमा झार्ने लक्ष्य लिएको बताए ।
सरकराले सन् २०३५ सम्म क्षयरोगको महामारी अन्त्य गर्ने लक्ष्य लिएको छ । अहिले प्रति एक लाखमा २२९ जना क्षयरोगी रहेका छन् ।
निर्देशक डा. श्रेष्ठका अनुसार आव २०७९/०८० मा नेपालमा ७० हजार नयाँ क्षयरोगका विरामीहरु थपिएको र करिव १८ हजारको मृत्यु हुने गरेको छ । नयाँ विरामीमध्ये ३७ हजार ४४७ जना मात्र उपचारमा आएको उनको भनाई रहेको छ । तिमध्ये तीन हजार ६५८ जना बालबालिका उपचाररत रहेका छन् ।
क्षयरोगका विरामीमध्ये ७२ प्रतिशत फोक्सोका विरामी र २८ प्रतिशत अन्य अङ्गका विरामी हुने गरेका छन् । अन्य अङ्ग फोक्सोको पानी, हड्डी र दिमागमा पनि क्षयरोग लाग्ने गरेको उनले बताए ।
विश्वमा औषधि प्रतिरोधि क्षयरोगको उच्च भार भएका ३० देशमध्ये नेपाल पनि रहेको छ । आव २०७९/०८० मा दुई हजार ९०० जनामा औषधि प्रतिरोधि क्षयरोग विकास हुने अनुमान गरिएकोमा ६९३ विरामीहरु मात्र निदान गरिएको र ५४६ विरामीको उपचारको दायरामा आएको निर्देशक डा. श्रेष्ठले बताए । औषधि प्रतिरोधी क्षयरोगका विरामीको उपचार सफलता ८२ प्रतिशत रहेको छन् ।
क्षयरोगका ६८ प्रतिशत विरामी मधेश, वागमती र लुम्बिनी प्रदेशका रहेका छन् । क्षयरोगको मृत्युको दर तीन प्रतिशत रहेको छ ।
क्षयरोग माइकोब्याक्टेरियम ट्युबरक्लोसिस नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो । क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्ने रोग हो । एक जनाबाट १० जनासम्म क्षयरोग सर्न सक्दछ । फोक्सोमा क्षयरोग लागेमा सर्ने र अन्य अङ्गमा लागेमा नसर्ने निर्देशक डा. श्रेष्ठले बताए ।
क्षयरोग भएका विरामीले खोक्दा, हाछ्युँ गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुन्छ । क्षयरोगबाट ७२ प्रतिशत फोक्सोलाई सङ्क्रमण गर्छ । यस्तै मुटुको बाहिरी झिल्ली, मासु, जोर्नी, मस्तिष्कमा पनि क्षयरोगले असर गर्दछ ।
केन्द्रका निर्देशक डा. श्रेष्ठले क्षयरोगका बिरामीले कम्तीमा ६ देखि बढीमा १२ महिनासम्म चिकित्सकको निगरानीमा बसेर औषधी सेवन गरेमा ९० प्रतिशत रोग निको हुने बताए ।
उनका अनुसार क्षयरोगको जोखिम १५ देखि ४४ वर्ष उमेर समूहका रहेका छन् । पछिल्लो वर्षमा ६५ बर्षभन्दा माथिका वृद्धवृद्धामा पनि क्षयरोग देखिने गरेको पाइएको छ ।
केन्द्रले छिटो र छरितो तरिकाले रोग पहिचान गर्न १५ सेन्टरबाट ११३ स्वास्थ्य संस्थाबाट १३१ वटा मेसिन जडान गरी रोगी पत्ता लगाउने गरेको उनको भनाइ छ । र नेपालभरका छ हजारभन्दा बढी स्वास्थ्य संस्थामा क्षयरोगविरुद्धको औषधी नि:शुल्क उपलब्ध छन् ।
कुपोषण भएका, धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन, मधुमेहका बिरामी, मादक पदार्थ सेवन गर्ने, एचआइभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस क्षयरोगको उच्च जोखिम पर्ने गर्दछन ।
लक्षण
तौल कम हुनु, खानामा रुचि कम हुनु, दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, राति ज्वरो आउनु क्षयरोगका प्रमुख लक्षण हुन ।
यहि यहि चैत ११ गते ‘हो ! हामी क्षयरोग अन्त्य गछौ’ भन्ने मुल नाराका साथ विश्व क्षयरोग दिवस मनाइदै छ ।

