काठमाडौँ, । सरकारले संचालन गरेको दादुरा–रुवेलाको विरुद्धको खोप अभियानमा ४१३ स्थानीय तहका सवै बालबालिका खोप लगाएका छन् ।
बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले खोप अभियान संचालन गरेका २४ जिल्लाका ४१३ स्थानीय तहमा सवै बालबालिकाले खोप लगाइसकेको जानकारी दिए ।
यस्तै ४३ जिल्लाका १८० स्थानीय तहमा खोप अभियान जारी नै रहेको उनले बताए ।
उनका अनुसार अहिलेसम्म करिव ६६ प्रतिशत अर्थात ३७ लाख ९२ हजार ४६८ जना बालबालिकाले खोप लगाइसकेका छन् ।
शाखा प्रमुख डा. गौतमले हिमाली जिल्लाका अझै आठ जिल्लामा हिमपातका कारणले खोप अभियान संचालन हुन नसकेको बताए । जिल्लाका १२२ स्थानीय तहमा अझै संचालन हुन सकेको छ्रैन ।
यहि फागुन १३ गतेदेखि दादुरा रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर सरकारले पश्चिम रुकुम र जाजरकोट जिल्ला वाहेक सवै ७५ जिल्लामा खोप अभियान संचालन गरेको हो । ति जिल्लाका कुल ५७ लाख ४२ हजार ९९३ बालबालिका खोप लगाउने लक्ष्य राखिएको छ ।
खोप भारतसंग सीमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका तीन जिल्ला गरि २४ जिल्लामा ९ महिनादेखि १५ बर्ष मुनिका र ५१ जिल्लाका नौ महिनादेखि पाँच बर्षसम्मका बालबालिकालाई पनि खोप लगाइदै छ ।
खोप विहान १० बजदेखि दिउँसो ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोप केन्द्रमा खोप लगाइएको छ ।
खोप अभियानका लागि देशभरि ४८ हजार ७९८ खोप केन्द्र रहेका छन । यस्तै ४९ हजार ९३७ जना स्वास्थ्यकर्मी र ५९ हजार ९०६ जना स्वयसेवक परिचालन गरिने छ ।

