काठमाडौँ, । भोलि आइतवारदेखि शुरु हुने सरकारले दादुरा–रुवेलाको विरुद्धको खोप प्रभावकारी रहेको बताइएको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा खोप सुरक्षित र प्रभावकारी रहेकोले सवैले आआफ्नो बालबालिकालाई खोप लगाउन अनुरोध गरिएको छ ।
महाशाखाका निर्देशक डा. विवेककुमार लालले खोपको प्रभावकारिता ८५ प्रतिशत रहेकोले सवै बालबालिकालाई लगाउनु अनुरोध गरे । “खोपले ८५ प्रतिशतलाई दादुरा रुवेलारोगसंग लड्ने क्षमता विकास गर्दछ” उनले भने, “ त्यसैले खोपको प्रभाकारिता रहेकोले सवैले आआफ्नो बालबालिकालाई खोप लगाउनुपर्दछ ।”
उनले खोपलाई दुई डिग्री सेल्सियसदेखि आठ डिग्री सेल्सियससम्म राख्नुपर्ने र खोप लगाउँदा मासुमा लगाउनुपर्ने बताए ।
उनले प्रत्येक बर्ष १५ प्रतिशतमा रोगसंग लड्ने क्षमताको विकास नभएकोले चार–चार बर्षको अन्तरमा खोप अभियान संचालन गर्नु परेको बताए ।
यहि दादुरा रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आगामी फागुन १३ गतदेखि चैत ७ गतेसम्म हुने खोप अभियान संचालन गरिने छ ।
बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले खोप विश्व स्वास्थ्य सङगठन (डब्लुएचओ)ले गुणस्तरिययुक्त भनी प्रमाणित भएको र औषधि व्यवस्था विभागले मान्यता दिएकोले खोप सुरक्षित रहेको बताए । उनले खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रुवाखोकी आउने जस्ता समस्या देखिए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताए ।
उनले खोप लगाएपछि बच्चामा समस्या हुने भएको जिल्लास्तरमा आकस्मिक उपचारको टोली गठन गरिएको बताए ।
खोप भारतसंग सीमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका तीन जिल्ला गरि २४ जिल्लामा ९ महिनादेखि १५ बर्ष मुनिका सवै बालबालिकालाई खोप लगाइने छ ।यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच बर्षसम्मका बालबालिकालाई पनि खोप अभियान सहभागि हुने छ ।
जाजरकोट र पश्चिम रुकुममा गत भूकम्प गएपछि खोप अभियान संचालन गरिएको थियो ।
सात रोग विरुद्धको खोप पनि
खोप अभियानकै क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने उनको भनाई रहेको छ ।
खोप अभियानमा सात वटा रोग विरुद्धको खोप पनि संगै संचालन हुने छन ।
खोप शाखाका प्रमुख डा. गौतमले हेपाटाइटिस बी, धनुष्टाङ्कार, इन्फ्युन्जा,लहरेखोकी, भ्यागुते रोग, निमोनिया र पोलियो विरुद्धको खोप पनि संचालन हुने छ । ति खोप लगाउन छुटेका नौ महिनादेखि पाँच बर्षमुनिका बालबालिकालाई लगाइने बताए।
उक्त खोप अभियानमा करिव ५७ लाख बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप लगाइने लक्ष्य राखिएको छ ।
सरकारले सन् २०१८ मा दादुरा रुवेलालाई नियन्त्रण गरेपनि निवारण गर्न सकेको छैन । सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका यसपटक सरकारले खोप अभियान संचालन गर्न थालेको हो ।
गतबर्ष १९ जिल्लामा दादुरा– रुवेला महामारीको रुपमा फैलिदा एक हजार ३४९ जना सङ्क्रमित भएका थिए ।
दादुरा–रुवेला सवभन्दा बढी सङ्क्रामक रोग हो । एक व्यक्तिले १८ जनासम्म यो रोग सार्न सक्ने खोप शाखा प्रमुख डा. गौतमले बताए ।

