काठमाडौँ । चन्द्रागिरि नगरपालिकाद्वारा सञ्चालित प्राथमिक अस्पताल थानकोटले मिर्गौलाका बिरामीका लागि डायलाइसिस सेवा सञ्चालनमा ल्याउने भएको छ । २०७६ वैशाख २८ देखि चन्द्रागिरि–४ थानकोटमा सञ्चालित १५ शैयाको अस्पतालले हाल प्रयोगशाला, आकस्मिक सेवा र ‘बर्थिङ सेन्टर’सहितको सेवा प्रदान गरिराखेको छ ।
लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५, लायन्स क्लब अफ चन्द्रागिरि, लायन्स क्लब अफ चन्द्रागिरि नर्थ र लायन्स क्लब अफ काठमाडौँ ग्लोबलको सहजीकरणमा लायन्स क्लब इन्टरनेसनल फाउन्डेसनको सहयोगमा उक्त डायलायसिस सेवा सञ्चालन हुने जनाइएको छ । आगामी छ महिना भित्रनै उक्त सेवा सुचारु हुने उक्त कमिटीका अध्यक्ष राजु महर्जनले जानकारी दिए।
प्राथमिक अस्पताल थानकोट’को हाताभित्रै थप १५ श्ययाको नगर अस्पताल गत हप्ता शिलान्यास गरिएको थियो । मन्त्रिपरिषद्को गत फागुन ४ को बैठकले चन्द्रागिरि नगर अस्पताल बनाउन नगरपालिकालाई २३ रोपनी सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । यसपछि नगरपालिकाले फागुन २१ गते अस्पतालको नयाँ भवन निर्माण गर्न बोलपत्र आह्वान गरेको थियो ।
गत असार २० मा चन्द्रागिरि नगरपालिका र निर्माण कम्पनीका बीचमा दुई वर्षभित्रमा भवन निर्माण सम्पन्न गर्ने गरी द्विपक्षीय सम्झौता भएको थियो । कर बाहेक रु १७ करोड ४९ लाख ३४ हजार एकसय ९९ मा तीन तल्ले भवन बन्ने जनाइएको छ ।

