काठमाडौँ, : सरकारले कोरोना भाइरस विरुद्ध ल्याइएको ४० लाख मात्रा खोप प्रयोग नभएपछि विर्सजन ‘डिस्पोजल’ को तयारी गरिएको छ ।
चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको साइनोभ्याक खोप ४० लाख मात्रा प्रयोग नगरि म्याद सकिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विर्सजन (डिस्पोजल) गर्ने तयारी गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कोरोना भाइरस विरुद्धको ४० लाख मात्रा खोप विर्सजनको गरिने बताए ।
“खोप प्रयोग नभएपछि त्यतिकै खेर गएको छ,” उनले भने “धेरै मात्रा खोप भएकोले के कसरी विर्सजन गरिने हो हामीले कार्यविधि बनाउँदै छौ ।”
उनका अनुसार खोपलाई धेरै तापक्रम राखेर जलाउने कि इट्टाभट्टा राखेर पनि जलाउने भन्नेमा छलफल भइरहेको छ ।
बुस्टर डोजका लागि प्रयोग हुन नमिल्ने भएपछि विगत साढे दुई बर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा त्यतिकै थन्किएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले बुस्टर डोजका लागि प्रयोग गर्न नभनेपछि राष्ट्रिय खोप सल्लाहकार समितिले उक्त खोप नलगाउने निर्णय गरेको हो ।

उक्त खोप चीन सरकारबाट अनुदानमा २०७८ वैशाख १२ गते ३४ लाख ४३ हजार ३६० मात्रा र वैशाख १४ गते ५ लाख ५६ हजार ६४० मात्रा खोप नेपाल आएको थियो ।
बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले बुस्टर डोजका लागि प्रयोग गर्न नमिल्ने तथा पहिलो र दोस्रो मात्रा खोप लगाउन मानिस नभएपछि खोपको प्रयोग नभएको बताए ।
“कोरोना महामारीको वेला खोपको माग गरेर आएको हो । तर खोप नेपाल आउँदा धेरै मानिसहरुले पहिलो र दोस्रो मात्रा खोप लगाइसकेका थिए” उनले भने “खोपलाई डब्लुएचओले बुस्टरका लागि प्रयोग गर्न नमिल्ने भनेपछि हामीले खोपको प्रयोग गर्न सकेनौ ।” त्यतिवेला बुस्टर डोजका लागि साइनोभ्याकको सट्टा फाइजर खोप प्रयोग गरिएको थियो ।

 प्रकाशित :-  २०८० माघ ६, शनिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय