काठमाडौं, २५ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको गुनासो सुनुवाइ एकाइ हेलो हेल्थले एक सय ३० गुनासो सम्बोधन गरेको छ ।
नागरिकबाट प्राप्त ती गुनासाहरु रेकर्ड गरेर आवश्यकताका आधारमा तत्काल तथा नीतिगत सुधारक विषय मन्त्रालयमा रिपोर्टिङ गरिएको एकाइ प्रमुख डा. अनुप बास्तोलाले बताए ।
पैसा नलाग्ने नम्बर १११५ तथा मन्त्रालयको ह्वाट्सएप र भाइबर नम्बर ९८५१३३०५९२ का साथै मन्त्रालयको आधिकारिक फेसबुक र एक्स ह्याण्डलमा गएर सेवा सम्बन्धमा गुनासो तथा जानकारी दुवै लिने प्रबन्ध गरिएको छ ।
एकाइमा गत पुष ९ गतेसम्म प्राप्त विवरण अनुसार सबैभन्दा धेरै गुनासा अस्पताल सेवासँग सम्बन्धित ४१ दर्ता भएका छन् । यसैगरी बिमा सेवा २५, पारिश्रमिकसम्बन्धी १४, प्रशासनिक १५, पारिश्रमिकसँग सम्बन्धित १४ गुनासा दर्ता भएका छन् ।
सुझाव सम्बन्धी ८ तथा अन्य २१ गुनासा दर्ता भएकामा आवश्यकताअनुसार तत्काल तथा प्राथमिकता दिएर सम्बोधन गरिएको एकाइ प्रमुख बास्तोलाले जानकारी दिए ।
आम नागरिकलाई आफ्ना गुनासा भन्ने ठाउँ उपलब्ध होस् भनेर एकाइ गठन गरिएको हो, उनले भने, आएका गुनासा हरसम्भव सम्बोधनको प्रयास भैरहेको छ । तपाईंका गुनासा निर्धक्कसँग राख्नुस् ।
उनले नागरिकका धेरै समस्या परेका विषय नीतिगत सुधार आवश्यक परे गर्न तयार रहेको पनि बताए ।

