काठमाडौँ, १४ पुस । औषधि व्यवसायीले औषधिको मूल्य समायोजन गर्न सरकारसंग माग गरेका छन् । पत्रकारसंगको भेटघाटमा यतिकेम ग्रुपका कार्यकारी अध्यक्ष प्रभुराज वैद्यले सरकारले औषधिको मूल्य समायोजन गर्नुपर्नेमा जोड दिए ।
औषधिको आयात गर्दा लाग्ने प्रक्रिया, बजार व्यवस्थापनलगायतका खर्चमा वृद्धि भएको तर औषधिको मूल्य भने यथावत हुँदा मार परेको भन्दै उनले जति सक्दो चाँडो मूल्य समायोजन गर्नुपर्ने बताए ।
उनले औषधिको गुणस्तर कायम राख्नमा समेत ठूलो खर्च हुने गरेको बताए ।
‘औषधिको मूल्य चाँडै नै समायोजन गर्नुपर्दछ ’, उनले भने, ‘सरकारले तोकेको मूल्यमा औषधि दिन अति मुश्किल भइसक्यो । मूल्य समायोजन नहुँदा तोकिएको मुल्यमा औषधि दिन सकिएको छैन ।’
कार्यकारी अध्यक्ष वैद्यले औषधि किन्दा सचेत हुनुपर्ने बताए ।
उनले औषधीको म्याद हेर्ने गर्नुपर्दछ । ‘धेरै ठाउँमा म्याद सकिएको औषधि वेचिरहेका छन् । दर्ता नभएका औषधि पनि वेचिरहेका छन् ’ उनले भने ।
औषधी खरीद गर्दा त्यो मूल्य अनुसार छ कि छैन कतिपय औषधी पसलबाट धेरै मुल्य लिएको वा ठगिएको भन्ने पनि सुन्नमा आएको भन्दै उनले भने, ‘औषधी खरीद गर्दा पत्तामा, बट्टामा वा खोलमा लेखिएको एमआरपी मूल्य हेर्नुहोला । त्यो औषधिको मुल्य एमआपीसंग मिलेको छ कि छैन भनेर हेर्नुपर्दछ ।’
कतिपय व्यक्तिहरु फार्मेसी पसलमा औषधी खरीद गर्न जाँदा खरीद गर्ने तर त्यसको प्रयोगबारे राम्ररी नसोधी वा नबुझि हिड्ने गरेको पनि उनले पाएको बताए ।
‘औषधी लिईसकेपछि त्यसको सही प्रयोग गर्नु महत्वपूर्ण हुन्छ । घाम लाग्ने ठाउँमा, पानी पर्ने ठाउँमा राख्न हुँदैन । कोल्डचेन मेन्टेन गर्नु पर्ने औषधीहरुलाई त्यहि किसिमले राख्नु पर्छ ’ उनले भने ।

