काठमाडौं, ११ पुस । नर्भिक इन्टरनेशनल अस्पतालमा टाउकोको पानी जम्ने समस्याको शन्ट शल्यक्रिया गरेकाका लागि ‘प्रोगामेबल शन्ट सिस्टम’ विधिद्वारा उपचार सुरु गरेको छ ।

टाउकोमा पानी जम्ने समस्या भएकालाई शन्ट शल्यक्रियामार्फत् पातलो पाइप टाउको पछाडिबाट छालामुनि हुँदै पेटमा लगेर पानी सोसाउने गरिन्छ ।

कहिलेकाही जति पानी निस्कनुपर्ने हो निस्कँदैन या पानी बढ्दै जाने हुन्छ । यस्ता बिरामीलाई पुनः शल्यक्रिया गर्नुको साटो छाला बाहिरबाटै टाउकोको पानीलाई नियन्त्रण गर्ने (बढी गर्ने या कम गर्ने) ‘प्रोग्रामेबल शन्ट सिस्टम’ विधिबाट नर्भिकमा उपचार सुरु भएको हो ।
अस्पतालका सिनियर कन्सल्टेन्ट न्यूरोसर्जन प्रा.डा. राजीव झा नेतृत्वको टोलीले हालै यो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।

“अहिलेसम्म यो समस्याको उपचारका लागि बिरामीहरु विदेश जानुपर्ने बाध्यता थियो,” शल्यक्रियामा संलग्न प्रा. डा. झाले भने “टाउकोको पानी बग्ने समस्यामा पटक–पटक पाइप फेर्ने झन्झटबाट मुक्तिका लागि प्रोगामेबल शन्ट सिस्टम सुरु गरेका हौं ।”
यो विधिअनुसार उपचार गर्दा पुनः शल्यक्रिया गर्नुनपर्ने र शन्ट सर्जरीका क्रममा राखिएका पाइपलाई पनि फेर्नु नपर्ने उनले बताए ।

के कारणले जम्छ टाउकोमा पानी ?

टाउकोमा पानी जम्ने समस्यालाई हाइड्रोसेफालस भनिन्छ । जन्मजात मष्तिष्कको समस्या अर्थात् कन्जनाइटल हाइड्रोसेफालस, टाउकोमा मेनिन्जाइटिस इन्सेफलाइटिसजस्ता संक्रमण, टाउकोमा चोटपटक लागेर (पोस्ट ट्रमाटिक हाइड्रोसेफालस), ब्रेन हेमरेज तथा ब्रेन ट्युमरजस्ता प्रमुख ५ कारणले टाउकोमा पानी जम्न सक्छन् ।

ट्युमरका कारण पानी जमेको छ भने ट्युमर निकालिसकेपछि पानी आफैं बग्छ भने संक्रमण भएको, ब्रेन हेमरेज भएको र जन्मजात मष्तिष्कको समस्या भएको अवस्थामा भने पानी तर्काउनुपर्छ, जसलाई सीएसएफ (सेरेब्रो स्पाइनल फ्लुड) डाइभर्जन सर्जरी भनिन्छ ।

यस्तो सर्जरीमध्ये एउटाको भीपी शन्ट (भेन्ट्रीकुलोपेरिटोनियल शन्ट) हो, जसमा पाइप टाउकोबाट लगेर पेटमा राखिन्छ । अर्को इन्डोस्कोपिक सर्जरी हो ।

टाउकोमा पानी जम्ने लक्षण के हुन् ?

जन्मजात मष्तिष्कको समस्या अर्थात् कन्जनाइटल हाइड्रोसेफालस भएकाहरुमा बच्चा जन्मिएपछि टाउकोको आकार ठूलो हुँदै जाने, तालु कडा हुने (सामान्य शिशुमा तालु नरम हुन्छ), बढी रुने, खान गाह्रो मान्ने, बान्ता हुने जस्ता समस्या देखिन्छन् । लामो समय पानी जम्दै गयो भने मष्तिष्कभित्रको दबाबका कारण बच्चा नबोल्ने, आँखा देख्न कम हुने र अन्त्यमा दृष्टिविहीनसम्म हुने हुन्छ ।

यदि शिशुहरुको टाउको असामान्य रुपमा ठूलो छ, अरु शिशुजस्तो हाँस्ने तथा दूध पिउने गर्दैनन् या बढी रुने गर्छन् भने टाउकोमा पानी जमेको लक्षण हुन सक्छन्, बेलैमा ध्यान पु¥याउनुपर्छ ।

वयस्कमा पनि टाउको दुख्ने, बान्ता हुने, आँखा तिरिमिरी हुने, हिँड्न गाह्रो हुनेजस्ता लक्षण देखिन्छन् भने वृद्धवृद्धामा पिसाब नियन्त्रण गर्न नसक्ने, स्मरणशक्ति ह्रास भएर जाने, हिँडडुल गर्न नसक्ने हुन्छन् ।

सीटी स्क्यान, एमआरआइ तथा अल्ट्रासाउन्डमार्फत् टाउकोमा पानी जमे–नजमेको पहिचान गर्न सकिन्छ ।

 प्रकाशित :-  २०८१ पौष ११, बिहिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय