काठमाडौँ, ९ पुस । निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले परम्परागत चिनियाँ चिकित्सा सेवा सुरू गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले संयुक्तरूपमा ‘परम्परागत चिनियाँ अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र’को उद्घाटन गरे ।
मन्त्री गुप्ताले परम्परागत चिनियाँ चिकित्सा पद्धतिले आधुनिक उपचार प्रणालीलाई समृद्ध बनाएको बताए । “मानव शरीर, प्रकृति र ऊर्जाको सन्तुलनमा यो विधि आधारित छ । एक्युपञ्चर, हर्बल मेडिसिन, मसाज (तुइना) र खानपानसम्बन्धी परामर्शलगायत विधिहरूले उपचार प्रणालीलाई नै समृद्ध बनाउँदै लगेको छ,” मन्त्री गुप्ताले भने, “त्यस्तो विधि नेपालमा पनि सुरू गरिएको छ । यसले यहाँको उपचार प्रणालीलाई पनि समृद्ध बनाउने विश्वास लिएको छु ।”
परम्परागत चिनियाँ चिकित्सा हजारौँ वर्ष पुरानो विधि भएको भन्दै उहाँले अस्पतालमा सकेसम्म धेरै विधिहरूको प्रयोग गरी विशिष्ट स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
विश्वभर स्वास्थ्य सेवामा नवीन प्रविधि र परम्परागत ज्ञानको संयोजन बढिरहेको र त्यसले स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउने विश्वास उहाँले व्यक्त गरे ।
मन्त्री गुप्ताले अस्पतालको स्थापना र त्यसपछि पनि हालसम्म निरन्तर सहयोग गर्दै आएकामा चीन सरकारप्रति कृतज्ञता रहेको भन्दै अस्पताललाई अझै विस्तारित र प्रभावकारी बनाउन भविष्यमा समेत चिनियाँ सहयोग आवश्यक रहेको बताए ।
मन्त्री गुप्ताले भने, “इतिहासदेखि नै कायम नेपाल–चीन मित्रताको सम्बन्धलाई थप विस्तारित गर्न यस युनिटले महत्वपूर्ण योगलान दिने विश्वास लिएको छु ।”
कार्यक्रममा नेपालमा लागि चिनका राजदूत चेन सोङ्गले सिभिल अस्पताललाई विश्वस्तरीय सेवाहरूका साथ नेपालकै नमूना अस्पताल बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल, सामान्य प्रशासन मन्त्रालयका सह–सचिव मिरा आचार्य लगायत सहभागी थियो ।
कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा.विधाननिधी पौडेलले अस्पतालले अवदेखि चिनियाँ चिकित्सा पद्धति सेवा उपलब्ध गराउने बताए । उनका अनुसार चिन सरकारले जनशक्ति, औषधि र प्रविधि सहित अहिले दुई जना चिकित्सकले सेवा दिने छन् ।

