काठमाडौँ, ७ कात्तिक : सरकारले सय दिनको प्रगति विवरण सार्वजनिक गरेको छ ।
सरकारले सय दिनमा स्वास्थ्य क्षेत्रमा गरेका महत्वपूर्ण काम प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको स्वास्थ्यको काममा सातै प्रदेशमा क्यान्सर उपचार सेवा गरेको कुरा उल्लेख गरिएको छ । यसअघि क्यान्सर रोगको उपचार तीन प्रदेशमा हुने गर्दथ्यो ।
प्रधानमन्त्री ओलीले आर्थिक अभावमा जलनको उपचार गर्न नसक्ने नागरिकहरुको लागि सातवटै प्रदेशमा निःशुल्क उपचारको व्यवस्था गरेको बताएका छन् ।
कोशी प्रदेशको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश प्रदेशको नारायणी अस्पताल, बागमती प्रदेशको कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदुरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमार्फत उपचार खर्च व्यहोर्न नसक्ने नागरिकलाई कस्मेटिक बाहेकको जलन उपचार निःशुल्क गर्ने व्यवस्था गरिएको छ ।
यस्तै देशभरका १९ वटा संघीय अस्पतालहरूमा दुई सिफ्टमा बहिरंग सेवा सञ्चालन गरि १८ संघीय अस्पतालहरूमा सहज उपचार सेवा प्राप्तिका लागि टोकन प्रणाली लागु गरिएको स्वास्थ्य क्षेत्रको प्रगति विवरणमा उल्लेख गरिएको छ ।

