काठमाडौँ । काठमाडौँ उपत्यका मेयर्स फोरमले आगामी शैक्षिक सत्र २०८३ का लागि विद्यालय सञ्चालन सम्बन्धी महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। फोरमको वैशाख ९ गते बसेको बैठकले सरकारको निर्णय र स्थानीय तहको अधिकारलाई मध्यनजर गर्दै उपत्यकाभित्रका सबै विद्यालयहरूमा आगामी वैशाख ११ गतेदेखि नयाँ विद्यार्थी भर्ना अभियान सुरु गर्ने र वैशाख १५ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो। शिक्षा नियमावली र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गर्दै शैक्षिक वातावरणमा एकरूपता ल्याउन यो कदम चालिएको फोरमले जनाएको छ।

विज्ञप्तिमा उल्लेख भएअनुसार, नेपाल सरकारको पछिल्लो सूचनाले विद्यालय सञ्चालनमा केही अन्योल सिर्जना गरेपछि मेयर्स फोरमले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संविधानको अनुसूची ८ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम आधारभूत र माध्यमिक शिक्षाको व्यवस्थापन गर्ने पूर्ण जिम्मेवारी स्थानीय तहकै भएको स्मरण गराउँदै फोरमले विद्यार्थीको सिकाइ उपलब्धिमा हुन सक्ने क्षति न्यूनीकरण गर्न सबै सरोकारवाला निकायहरूसँगको समन्वयमा यो निर्णय लिइएको प्रस्ट पारेको छ।

यसका साथै, मुलुकमा विद्यमान इन्धन संकटलाई ध्यान दिँदै मेयर्स फोरमले वैकल्पिक उपायहरू अवलम्बन गर्न समेत अपिल गरेको छ। आगामी दिनमा इन्धन अभाव बढ्दै गएमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिन र पठनपाठन कार्यमा अवरोध हुन नदिन अनलाइन कक्षा लगायतका वैकल्पिक शिक्षण विधिहरूको पूर्वतयारी गर्न सबै सम्बन्धित पक्षलाई अनुरोध गरिएको छ। काठमाडौँ उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनद्वारा हस्ताक्षरित सो विज्ञप्तिले उपत्यकाका सबै पालिकाहरूलाई यो निर्णय कार्यान्वयनका लागि आग्रह गरेको छ।

 प्रकाशित :-  २०८३ बैशाख ९, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय