काठमाडौं, ७ चैत । प्रधानमन्त्री बालेन शाहले आज दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग विशेष छलफल गर्दै हुनुहुन्छ। प्रधानमन्त्री कुलपति रहने ११ वटा विश्वविद्यालय र सात वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूलाई सहभागी गराइने यस बैठकमा प्राज्ञिक क्षेत्रका समसामयिक चुनौतीहरूको विषयमा विस्तृत विमर्श हुनेछ।
यस छलफलमा विशेषगरी त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र कृषि तथा वनविज्ञान विश्वविद्यालय लगायतका उपकुलपतिहरूको उपस्थिति रहनेछ। साथै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुखहरूसँग पनि प्रधानमन्त्री शाहले संस्थागत सुधार र वर्तमान समस्याका बारेमा संवाद गर्नुहुनेछ।
बैठकको मुख्य उद्देश्य विश्वविद्यालय र प्रतिष्ठानहरूमा देखिएका समस्याहरूको पहिचान गरी तिनको समाधानका उपायहरू पहिल्याउनु रहेको छ। प्रधानमन्त्रीले कतिपय तत्कालै हल गर्न सकिने विषयमा निर्णय लिने र दीर्घकालीन सुधारका लागि उपकुलपतिहरूका सुझाव संकलन गरी उच्च शिक्षाको गुणस्तर सुधार्ने लक्ष्य राख्नुभएको छ।

