काठमाडौंँ, २२ पुस ः किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप प्रभावकारी र सुरक्षित भएको बताइएको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले खोपको सुरक्षित र प्रभावकारी रहेको बताए । उनले यसको गुणस्तर र प्रभावकारीतामा निरन्तर परीक्षण गर्ने बताए । उनले खोपमा कुनै शङ्का नभएको र कुनै शङ्का लागेका आफूहरुलाई अभिभावक र किशोरीले सोध्ने सक्ने बताए।
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सरिता घिमिरेले खोप सतप्रतिशत प्रभावकारी र सुरक्षित भएको बताए । “कलिलो उमेरमा विहान गर्ने र सुरक्षित यौन सम्र्पकको कारणले पाठेघरमा क्यान्सर हुनसक्दछ,” उनले भने,“ त्यही भएर यौनसम्पर्क हुनसक्ने उमेर समूहका किशोरीलाई लक्षित गरेर एचपिभी खोप दिइन थालेको हो ।”
पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरुद्ध खोप लगाउनुपर्ने हुन्छ ।
ह्युमनपापिलोमा भाइरस सङ्क्रमण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, धेरै धूम्रपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिदा हुने गर्दछ ।
बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार आगामी माघ २२ देखि फागुन ६ गतेसम्म खोप लगाइने छ । उहाँले देशभरिका कक्षा ६ देखि १० कक्षा पढ्ने १० देखि १४ बर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई विद्यालयमा गएर खोप लगाइने बताए ।
यस्तै विद्यालय बाहिर रहेका किशोरीलाई पनि विद्यालय गएर खोप लगाउन व्यवस्था गरिएको छ ।
‘एचपिभी’ खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा करिव १५ लाख मात्रा खोप नेपाल आइपुगेको हो । नेपालमा हरेक बर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ ।
पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरुद्ध खोप लगाउनुपर्ने हुन्छ । नेपालमा सवभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सवभन्दा बढी देखिने र त्यसपछि स्तन क्यान्सर रहेको छ ।

