काठमाडौँ, १२ पुस । ‘शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि वरिष्ठ जनस्वास्थ्य विशेषज्ञहरुको सुझाव लिइएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आज जनस्वास्थ्य क्षेत्रका विज्ञसंग सुझाव लिइएको हो ।
वरिष्ठ जनस्वास्थ्य विशेषज्ञहरुले अन्य विश्वविद्यालय भन्दा फरक बनाउनुपर्नेमा जोड दिए ।
वरिष्ठ छाती रोग विशेषज्ञ डा. अर्जुन कार्कीले सुदूरपश्चिम प्रदेशका जनताको स्वास्थ्य सेवा सुदृढ गर्न ऐनमा वाध्यकारी व्यवस्था राख्नुपर्ने सुझाव दिए ।
उनले विश्वविद्यालयबाट उत्पादन भएका जनशक्ति समाजसेवातर्फ अग्रसर हुने खालका कुरा समेट्नुपर्ने बताए ।
यस्तै वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तले विधेयकमा विश्वविद्यालयले एकिकृत उपाचार पद्धतिलाई जोड दिने खालका कुरा समेट्नुपर्ने बताए ।
“अन्य देशमाजस्तै एउटै छानामुनि आधुनिक चिकित्सा, प्राकृतिक चिकित्सा जस्ता कुरा संचालन गर्न विधेयकमा राख्नुपर्दछ” उनले भने, “पाठ्यक्रमपनि अहिलेको परिस्थितिलाई हेरेर बनाउनुपर्दछ ।”
यस्तै अस्पताल व्यवस्थापक डा. एसपी कलौनीले उत्पादित जनशक्ति स्वदेशमा नै खपत हुने कुरा विधेयकमा राख्न सुझाव दिए ।
यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. विमल चासिलले विश्वविद्यालयलाई सवैका स्वास्थ्यको उपचारको केन्द्र बनाउनुपर्नेमा जोड दिए ।
तिलगङ्गा आँखा अस्पतालका व्यवस्थापक डा. कृष्ण गोपाल श्रेष्ठले विधेयकमा विश्वविद्यालयको डिन र निर्देशकको कार्य अनुभव बढाउनुपर्नेमा जोड दिए ।
वरिष्ठ जनस्वास्थ्य विशेषज्ञ डा. महेन्द्रप्रसाद भट्टले सार्वजनिक साझेदारीका आधारमा विश्वविद्यालयलाई लैजानुपर्नेमा जोड दिए । समिति सदस्य छविलाल विश्वकर्माले विश्वविद्यालयलाई उद्देश्यमुलक र अन्यभन्दा फरक बनाउनुपर्नेमा बताए । अर्का समिति सदस्य डा.चन्द्रकान्त भण्डारीले विश्वविद्यालयलाई सुदूरपश्चिका जनताको जिवनस्तरसंग जोड्नुपर्ने बताए ।
समिति सभापति अमरवहादुर थापाले सुझावका आधारमा विधेयकमा संशोधन गरिने बताए ।

