काठमाडौँ, ५ असोज ः आज विश्व अल्जाइमर दिवस नेपालसंगै विश्वभर मनाइदै छ ।
‘अबको आवश्यकताः अल्जाइमर्स तथा डिमेन्सियामा क्रियाशीलता,’ भन्ने मुल नाराका साथ नेपालमा पनि दिवस मनाउन थालिएको हो ।
स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हीराकुमारी निरौलाले नेपालका ६० वर्षभन्दा माथिका करिब ७ देखि १० प्रतिशत मानिस अल्जाइमरसंगै डिमेन्सियाबाट प्रभावित रहेको बताइन् ।
उनले अल्जाइमरको सङ्ख्या एकिन भएपनि डिमेन्सिया भएका ७० प्रतिशत मानिसलाई अल्जाइमरको लक्षण देखिने गरेको बताइन् ।
उनले जनचेतनाका कमीले अल्जाइमर रोगको प्रकोप बढिरहेको बताइन् ।
समयमा उपचार गर्न सके अल्जाइमर रोगलाई कम गर्न सकिने उनको भनाई रहेका छ । “समयमा नै रोग पहिचान गरेर कडा खालको विर्सने रोगको लक्षणलाई अलि ढिला बनाउन सकिन्छ” उनले भनिन, “तर विरामीले उपचार नगर्दा कडा खालको लक्षण चाँडै देखिने गरेको छ ।”
नेपालमा ६० बर्ष माथिकामा देखिने गरेता पनि आजकाल ४० देखि ४५ बर्ष उमेर समूहमा देखिने गरेको उहाँको भनाई रहेको छ ।
लक्षण
अल्जाइमर रोग डिमेन्सियाको एक प्रकार हो । यसमा स्मरण शक्तिमा ह्रास हुने ,भर्खरै भएका कुराहरू सम्झिनलाई समस्या हुने र क्रमशः पुराना कुराहरू पनि बिर्सँदै जाने हुन्छ र साथै एउटै कुरालाई बारबार दोहोराउने , ध्यान केन्द्रीत गर्नलाई समस्या हुने जस्ता लक्षणहरु देखा पर्दछन् । पछि गएर उल्लेखित लक्षणहरु क्रमशः कडारुपमा बढ्दै गई दैनिक जीवनयापन कठिन हुन जान्छ ।
रोगको प्रमूख कारण बढ्दो उमेर भएता पनि श्रवण शक्तिमा कमी, नसर्ने रोग (उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, मोटोपन, मधुमेह ), मस्तिष्कमा चोट, दृष्टिमा कमी, वायु प्रदूषण, पोषण तत्वको कमी मदिरा र धुम्रपानको सेवन, डिप्रेसन, एक्लोपन, शारीरिक निष्क्रियता जस्ता कारणले पनि हुने गर्दछ ।
महाशाखा प्रमुख निरौलाले रोगको रोकथामको उपाय भनेको नै लक्षणको जोखिमहरु कम गर्नु रहेको बताइन् ।
नेपालमा ६० बर्ष माथिका जेष्ठ नागरिकको जनसंख्या १० प्रतिशत रहेको छ र बुढ्यौली जनसङख्याको वृद्धिसँगै मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरू बढ्दै गइरहेका छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार, हाल विश्वभर पाँच करोड ५० लाख मानिसहरू डिमेन्सिया रोगबाट प्रभावित छन् । जसमध्ये अल्जाइमर रोगले सबैभन्दा बढीलाई प्रभावित गरको छ ।
प्रत्येक वर्ष करिब एक करोड नयाँ डिमेन्सियाका बिरामीहरू थपिन्छन्, र यो सङ्ख्या २०५० सम्म दोब्बर हुने अनुमान गरिएको छ ।
सरकारले अल्जाइमर रोगलाई सम्बोधन गर्नका लागि सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बिपन्न नागरिक औषधी उपचार कार्यक्रम अन्तर्गत अल्जाइमर रोगको लागि एक लाख सम्म उपचार सुबिधा प्रदान गर्दै आइरहेको छ ।
देशभरी १२ वटा अस्पताल सुचिकृत भई अल्जाइमर रोगको उपचार गरिन्छ ।
राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७ अनुसार जेष्ठ नागरिक मानसिक स्वास्थ्यका लागि अल्जाईमर्स डीस अर्डर लागायतका विस्मृति तथा अन्य मानसिक समस्याको शीघ्र पहिचान र व्यबस्थापन गरि सामाजिक सुरक्षामा पहुँच अभिवृद्धि गर्ने रणनीति लिएको महाशाखा प्रमुख निरौलाले जानकारी दिइन् ।
उनले अल्जाइमरसंगै डिमेन्सिया रोगको रोकथाम र जोखिम कम गर्न, उपचार र स्याहारकर्ता वा परिवारलाई सहयोग र सहजिकरण गर्न आवश्यक रहेको बताइन् ।
उनले अल्जाइमर र डिमेन्सिया रोग भएका विरामीलाई सामाजिक कार्यमा लगाउनुपर्ने, मस्तिष्कलाई क्रियाशिल बनाउनुपर्ने र प्रयाप्त मात्रामा फलफूल खुवाउनुपर्ने बताउँछिन ।

