काठमाडौं, २० भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सेवालाई प्रभावकारी बनाउन राज्यले स्वास्थ्यका लागि व्यवस्था गरेका सबै सेवा र सहयोग एकीकृत प्रणालीमा ल्याउनुपर्ने बताएका छन् ।
व्यवस्थापिका संसदको शिक्षा,स्वास्थ्य तथा सुचना प्रविधि समिति बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै मन्त्री पौडेलले छरिएका सुविधा प्रभावकारी नहुने बताए ।
“अहिले सामाजिक सुरक्षा कोष, सुरक्षा निकाय तथा कर्मचारीका बेग्ला बेग्लै बीमा कार्यक्रम छन्,” उनले भने, “राज्यले उपचारका लागि पनि विभिन्न शीर्षकमा खर्च गरिरहेको छ । हाम्रो उद्देश्य यी सबैलाई एकीकृत प्रणालीमा राखेर थप श्रोतको खोजी गर्ने हो ।”
मन्त्री पौडेलले राज्यको योगदान रकम समेत थप गर्न र करमार्फत श्रोत थपेमा स्वास्थ्य बीमा प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गरे । उनले श्रोत सुनिश्चिततासँगै बीमाको प्रणालीमा देखिएको गलत दाबीजस्ता समस्या समेत सुधार गर्ने काममा लागिरहेको भन्दै त्यसो भएमा स्वास्थ्य बीमा प्रभावकारी बन्ने बताए ।
हालको एक लाख बीमा रकमले मात्र सेवा प्रभावकारी नहुने भन्दै सेवामा सुधार अनि श्रोतसमेत थप गर्न सके ५ लाखको बीमा बनाउन सकिने भन्दै त्यसै विश्वासका आधारमा आफू लागि परेको बताए ।
मन्त्री पौडेलले यस कार्यमा सहयोगका लागि संसदीय समितिसँगसमेत आग्रह गरे ।

