बागलुङ, । बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका हर्कबहादुर सार्की ‘क’ वर्गको अपाङ्गता भएका व्यक्ति हुन् । केही वर्षअघि शारीरिक अपाङ्गता भएका सार्कीलाई हिँड्डुल गर्नसक्ने भएकाले ‘ग’ वर्गको अपाङ्गता परिचयपत्र दिइएको थियो ।
उनको स्वास्थ्य अवस्था बिग्रिँदो थियो । शारीरिक समस्या थप हुने, उपचार गर्दा निको नहुने भएकाले उनी लामो समय थलिए। ओछ्यानमा आराम गरिरहेका सार्कीलाई अपाङ्गताको बिग्रँदो अवस्थामा थप सुविधा पाउनेगरी परिचयपत्र पाइन्छ भन्ने थाहै थिएन ।
सामान्य परिवारका हर्कबहादुरको हिँडेर गाउँपालिका पुग्ने अवस्था थिएन । गाउँपालिका पुगेर मात्रै हुँदैनथ्यो । धौलागिरि अस्पताल पुगेर चिकित्कको सिफारिस ल्याउने पनि त अवस्था थिएन् । सवारी साधन रिजर्भ गरेर अस्पताल र पालिकासम्म पुग्न उनीसँग आर्थिक अभाव थियो ।
गाउँपालिकाले अपाङ्गता परिचयपत्र पाएका सबैको नियमित अनुगमन गर्ने गरेको छ । उपचारका क्रममा रहेका अपाङ्गता भएको अवस्था बुझ्ने, अपाङ्गताको बिग्रँदो र सुधार भइरहेको अवस्था बुझ्ने गरेको गाउँपालिकाले हर्कबहादुरबारे जानकारी पायो ।
उनलाई ‘क’ वर्गको अपाङ्गता परिचयपत्र दिनका लागि गाउँपालिकाले चिकित्सक नै उनको घरमा लिएर गयो । गाउँपालिकाको प्रशासनिक जनशक्ति र जनप्रतिनिधिसँगै पुगे र उनलाई ‘क’ वर्गको अपाङ्गता परिचयपत्र दिइयो ।
घरमै पुगेर चिकित्सकले जाँच गरेपछि परिचयपत्र पाउने हर्क एक्ला व्यक्ति भने होइनन् । काठेखोला गाउँपालिका–७ रेशकी डम्मिकला थापाले पनि आफ्नै आँगनमा सबै प्रक्रिया पूरा गरेर ‘क’ वर्गकै परिचयपत्र पाए । काठेखोला गाउँपालिकाले असहाय अपाङ्गता भएका व्यक्तिका लागि घरमै पुगेर सबै सेवा दिने गरेको छ ।
“सबैलाई घरघरमै चिकित्सक पु¥याउँदा सम्भव हुँदैन, वडा अध्यक्षले सिफारिस गरेपछि असहाय भएको प्रमाणित भए हामीले पालिकाकै गाडीमा चिकित्सक लिएर सम्बन्धित व्यक्तिको घरमै पुग्छौँ”, गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले भने “खर्च, समय र शारीरिक अवस्थाका आधारमा बेसहारा अपाङ्गता भएका व्यक्तिका घरमै चिकित्सक पु¥याउने गरिएको हो ।”
अपाङ्गता भएका व्यक्तिलाई जस्तै गाउँपालिकाले ज्येष्ठ नागरिक, पछि परेको समुदाय र महिला तथा बालबालिकाका क्षेत्रमा पनि घरदैलो सेवा, उपचार सेवाजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । ज्येष्ठ नागरिक र एकल महिलाका लागि बैंकसँग सहकार्य गरेर घरघरमै साजिक सुरक्षा भत्ता पु¥याउन पालिका तल्लीन छ ।
गाउँपालिकामा ५१ जना श्रमिक तथा परिवारले यो वर्षमात्रै राहत रकम पाएका छन् । सामाजिक सुरक्षाअन्तर्गत गाउँपालिकाले रोजगार शाखामार्फत कामका क्रममा अङ्गभङ्ग भएका श्रमिकलाई विधिअनुसारको राहत र मृत्यु भएका श्रमिकको परिवारलाई मृत्यु राहत दिने गरेको छ ।
“सामाजिक सुरक्षाको पाटो असाध्यै महत्वपूर्ण र घरदैलोमा जोडिने पाटो हो, हामी नीति नियम कार्यान्वयनमा जिम्मेवार भएर लागेका छौँ”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले भने। गाउँपालिकाले सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग सहकार्य गरेर पनि नागरिकमैत्री सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।
(

