मेलम्ची, : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेद भरपर्दो उपचार पद्वति भएको बताएका छन् ।
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरको आयोजनामा सिन्धुपाल्चोकको मेलम्चीमा शनिबार आयोजना गरिएको नि:शुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य सिविर तथा औषधि वितरण कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले आयुर्वेद पद्वतिबाट उपचार गर्दा साइड इफेक्ट नहुने र यो उपचार भरपर्दो पनि भएको बताएका हुन ।
आयुर्वेद उपचार पद्वति हाम्रो मौलिक उपचार पद्वति भएको बताउदै मन्त्री बस्नेतले यसको विकासका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योजना अनुसार काम गरिरहेको दाबी गरे ।
मन्त्री बस्नेतले भने, ‘आयुर्बेदको विकास र बिस्तार गर्न सके धेरै रोगबाट मुक्त हुन सकिन्छ ।’
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले मेलम्चीमा आयोजना गरेको स्वास्थ्य सिविरबाट सयौं स्थानियवासीले स्वास्थ्यलाभ लिन सक्ने बताउदै मन्त्री बस्नेतले सिविरमा उपचार हुन नसक्ने विरामीका लागि तालिम केन्द्रले किर्तिपुरमा निशुल्क उपचारको व्यवस्था गर्ने जानकारी दिए ।
आफुले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य क्षेत्रमा थुप्रै सुधारका काम सुरु गरेको दावी गर्दै मन्त्री बस्नेतले विभिन्न रोगको उपचार स्थानिय स्वास्थ्य संस्थामै हुन सके जनताले उपचारकै लागि काठमाडौं धाउनु पर्ने अवस्थाको अन्त हुने कुरामा जोड दिए ।
मन्त्री बस्नेतले भने, ‘ मिर्गौला फेल भएका विरामीको सुविधाका लागि चौतारामा ५ वटा डाइलासिस मेसिन पुगिसकेका छन् । केही दिनमै सेवा सुरु हुन्छ । मेलम्चीमा पनि आवश्यकता छ भने स्वास्थ्य मन्त्रालयले पठाइदिन तयार छ ।’
पैसा नभएका कारण कुनै पनि नेपालीले उपचार सेवाबाट बन्चित हुन नपरोस भन्ने उद्घोषका साथ आफुले काम गरिरहेको बताउदै मन्त्री बस्नेतले निकट भविश्यमै चिकित्सा शिक्षा ऐन संसोधन गरेर चिकित्सा शिक्षामा कोटा बढाएर स्वदेशमै पढ्न पाउने वातावरण बनाउन लागेको जानकारी दिए ।
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक डा. रामआधार यादवले धेरैजसो रोगको उपचार आयुर्वेद पद्वतिको माध्यमबाट गर्न सकिने भए पनि त्यसको महत्व बुझ्न र बुझाउन नसक्दा समस्या देखिएको बताए ।
पेट सम्बन्धी समस्याका कारण धेरैजसो रोग लाग्ने गरेको बताउदै डा.यादवले आयुर्वेद पद्वतिबाट हुने उपचारले पेट सम्बन्धी रोग निको हुने दावी गरे ।
स्वास्थ्य सिविरमा पेट सम्बन्धी रोग, पिनास, मधुमेह, पंचकर्म, भिडियो एक्सरे, छाला सम्बन्धी रोग, फिजियो थेरापी सहितका सेवा र निशुल्क औषधि समेत बितरण गरिएको थियो ।
स्वास्थ्य सिविरमा एक हजार ३ सय भन्दा बढी स्थानिय बासिन्दाले सेवा लिएका थिए ।
कार्यक्रममा बाग्मती प्रदेशका सभासद कृष्णकुमार तामाङ,पूर्व गृहराज्यमन्त्री विष्णु विक्रम थापा मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङ लगायतको उपस्थिति रहेको थियो ।

 प्रकाशित :-  २०८० पौष १४, शनिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय