काठमाडौ, २१ चैत । मन्त्रिपरिषद्ले गत चैत्र १३ गते गरेको शासकीय सुधारका १०० बुँदे निर्णय कार्यान्वयनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रगति विवरण सार्वजनिक गरेको छ। मन्त्रालयले बुँदा नम्बर ८५ मा उल्लेखित स्वास्थ्य क्षेत्रका सुधारका कार्यहरूलाई तीव्रता दिँदै चैत्र २० गतेसम्मको उपलब्धि सार्वजनिक गरेको हो। यस अन्तर्गत राष्ट्रिय ट्रमा सेन्टर, डडेल्धुरा, नारायणी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुक्रराज ट्रपिकल र गजेन्द्र नारायण सिंह अस्पतालमा विशेष कार्ययोजनासहित सुधारका कामहरू सुरु भएका छन्। अस्पतालको सरसफाइ, कर्मचारीको नियमित हाजिरी र बिरामीका गुनासो सुनुवाइका लागि फोकल पर्सन तोकेर सेवाको गुणस्तर बढाउन ५ वटा अस्पतालहरूमा प्रत्यक्ष निगरानी सुरु गरिएको छ।
नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न मन्त्रालयले अस्पतालहरूको सेवा र पारदर्शितामा जोड दिएको छ। हालसम्म देशभरका ६३ वटा अस्पतालहरूले आफ्नो कुल शय्याको १० प्रतिशत बेड विपन्नका लागि निःशुल्क उपलब्ध गराएको विवरण मन्त्रालयको वेबसाइटमा अद्यावधिक गरिएको छ। सेवाग्राहीका समस्या तत्काल सम्बोधन गर्न क्युआर कोड र इमेलसहितको एकीकृत गुनासो व्यवस्थापन प्रणाली सक्रिय बनाइएको छ। प्राप्त गुनासोहरूलाई सम्बन्धित निकायसँग समन्वय गरी समाधान गर्ने प्रक्रिया अघि बढाइएको छ भने सेवाको गुणस्तर मापनका लागि चेकलिस्ट बनाएर संघीय तथा प्रादेशिक अस्पतालहरूमा नियमित अनुगमन कार्यको थालनी गरिएको छ।
औषधिमा आत्मनिर्भरता र व्यवस्थापकीय सुदृढीकरणका लागि नेपाल औषधि लिमिटेड र सिंहदरबार वैद्यखानाको उत्पादन क्षमता वृद्धि गर्ने तयारी पूरा भएको छ। यी निकायबाट उत्पादित औषधिहरू अब जीटुजीु प्रणालीमार्फत सिधै खरिद गर्ने व्यवस्था मिलाइएको छ। मन्त्रालयले १०० दिनभित्र सम्पन्न गर्नुपर्ने १० बुँदे विशेष सुधारका कार्यहरूका लागि जिम्मेवारी बाँडफाँड समेत गरिसकेको छ। यस पहलले सरकारी स्वास्थ्य संस्थाहरूमा उत्तरदायित्व बढ्ने र आम नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा पाउने अपेक्षा गरिएको छ।

