भ्रममा नपर्न आग्रह
काठमाडौं, १८ चैत ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामाजिक सञ्जालमा भाइरल भइरहेको ‘शैक्षिक संस्थाहरूमा हप्ताको दुई दिन सार्वजनिक बिदा’ सम्बन्धी सूचना पूर्णतः भ्रमक र नक्कली भएको स्पष्ट पारेको छ। मन्त्रालयको नाम र लोगो प्रयोग गरी चैत १७ गतेको मितिमा जारी गरिएको भनिएको उक्त सूचनाप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै एक प्रेस विज्ञप्ति जारी गरेको छ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “शैक्षिक संस्थाहरू प्रत्येक हप्ताको शनिबार र आइतबार दुई दिन पूर्ण रूपमा बन्द हुने भनी मन्त्रालयको निर्णय, कारण र उद्देश्यसमेत उल्लेख गरी प्रकाशन भएको कपोलकल्पित र भ्रामक सूचनामा कुनै सत्यता नभएको बेहोरा सम्बन्धित सबै शैक्षिक संस्था तथा आम सरोकारवालाहरूमा अनुरोध छ।”
मन्त्रालयले सरकारी कागजात, छाप र दस्तखतको दुरुपयोग गरी यस्तो भ्रामक एवं मिथ्या सूचना सम्प्रेषण गर्ने व्यक्तिको पहिचान गरी प्रचलित कानुन बमोजिम कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई अनुरोध समेत गरेको छ। आधिकारिक निर्णय विना फैलाइएका यस्ता सूचनाले विद्यार्थी र अभिभावकमा अन्योल सिर्जना गर्ने हुँदा मन्त्रालयको आधिकारिक वेबसाइट र सूचना पार्टीमा प्रकाशित जानकारीलाई मात्र आधिकारिक मान्न आग्रह गरिएको छ।


