काठमाडौं, १७ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थाहरूका लागि सूचीकरण प्रक्रिया अगाडि बढाएको छ। मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ र नियमावलीको व्यवस्था बमोजिम सरकारबाट स्वीकृति प्राप्त वा सरकारी स्वामित्वमा रहेका स्वास्थ्य संस्थाहरूलाई सूचीकरण गर्न लागेको हो। यस प्रक्रियाले वैदेशिक रोजगारीमा जाने युवाहरूको स्वास्थ्य परीक्षणलाई थप व्यवस्थित, विश्वसनीय र पहुँचयोग्य बनाउने विश्वास लिइएको छ।
मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार, माननीय मन्त्रीस्तरको मिति २०८२ चैत १७ गतेको निर्णय बमोजिम स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२ को दफा ३ को व्यवस्था अनुसार यो प्रक्रिया अघि बढाइएको हो। वैदेशिक रोजगार नियमावलीले नेपाल सरकारको स्वामित्वमा रहेका स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउन बाधा नपुग्ने व्यवस्था गरेसँगै सरकारी अस्पतालहरूलाई समेत यस प्रक्रियामा प्राथमिकताका साथ समेटिने देखिएको छ। सूचीकरणका लागि आवश्यक कानुनी र प्राविधिक प्रक्रियाहरू मन्त्रालयले तत्कालै अघि बढाउने जानकारी प्रवक्ता पीताम्बर घिमिरेले दिनुभएको छ।


