काठमाडौं, १७ चैत । स्वास्थ्य मन्त्रालयले पहुँच र शक्तिको आडमा सुगमका अस्पतालहरूमा काज मिलाएर बसेका १४ जना विशेषज्ञ चिकित्सकहरूलाई उनीहरूको मूल दरबन्दी भएकै स्थानमा फिर्ता पठाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले देशभरको स्वास्थ्य सेवालाई सन्तुलित बनाउन र दुर्गम क्षेत्रमा देखिएको चिकित्सक अभावलाई सम्बोधन गर्न यस्तो कदम चाल्नुभएको हो। यो निर्णयसँगै पहिलो चरणमा नवौँ र दशौँ तहका विशेषज्ञहरूलाई डडेल्धुरा अस्पताल, नारायणी अस्पताल ९पर्सा० र गजेन्द्र नारायण सिंह अस्पताल ९राजविराज० मा फिर्ता पठाइएको छ।

यसअघि यी चिकित्सकहरू राजधानीका वीर, कान्ति र भरतपुर अस्पतालका साथै विभिन्न प्रदेशका मुख्यमन्त्री कार्यालय तथा स्वास्थ्य सेवा विभाग जस्ता सुगम निकायहरूमा कार्यरत थिए। काज फिर्ता हुनेहरूमा वरिष्ठ कन्सल्टेन्ट इएनटी सर्जन, एनेस्थेसियोलोजिष्ट, रेडियोलोजिष्ट, साइक्याट्रिष्ट, डर्माटोलोजिष्ट, सर्जन, ग्यास्ट्रोइन्टेरोलोजिष्ट र फिजिसियन लगायतका विशेषज्ञहरू रहेका छन्। पहुँचको दुरुपयोग गरी शहर केन्द्रित हुने प्रवृत्तिलाई निरुत्साहित गर्न मन्त्रालयले यो एक्सन लिएको हो।

मन्त्रालयको विवरण अनुसार डा रोहिता बज्राचार्यसहित ५ जनालाई राजविराज, डा सन्तोष कुमार गुप्तासहित ४ जनालाई डडेल्धुरा र डा सोनिका धरी श्रेष्ठसहित ५ जनालाई वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको छ। यसरी विशेषज्ञ चिकित्सकहरू दरबन्दी भएकै ठाउँमा फर्किएपछि दुर्गम तथा क्षेत्रीय अस्पतालहरूको सेवा थप प्रभावकारी हुने र स्थानीय नागरिकले विशेषज्ञ उपचारका लागि टाढा धाउनुपर्ने बाध्यतामा कमी आउने विश्वास गरिएको छ।

 प्रकाशित :-  २०८२ चैत्र १७, मंगलबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय