काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद् लामो समयदेखि कानुनी, संरचनात्मक तथा प्रतिनिधित्वसम्बन्धी गम्भीर समस्यामा फसेको भन्दै स्वास्थ्य क्षेत्रका विभिन्न पेशागत संघसंस्थाहरूले भोलि विहिबारदेखि काठमाडौंको सिफल चौरमा आमरण अनशन सुरु गर्ने भएका छन् ।

संयुक्त संघर्ष समितिका अनुसार परिषद्को प्रभावकारी अनुगमन र नियमन कमजोर हुँदा लाखौँ दर्तावाल स्वास्थ्यकर्मीहरूले प्रदान गर्ने सेवाको गुणस्तरमा असर परेको छ । यसको प्रत्यक्ष प्रभाव आम जनस्वास्थ्यमा समेत परेको समितिको ठहर छ । सुरक्षित, प्रभावकारी र वैज्ञानिक स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले स्थापना गरिएको परिषद् आफ्नो भूमिकामा प्रभावकारी देखिन नसकेको आरोप लगाइएको छ ।

संघर्ष समितिले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को गरिमा र भूमिकालाई सुदृढ बनाउँदै निजी तथा सामुदायिक क्षेत्रमा कार्यरत सबै विधाका स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक र सेवा सुविधासम्बन्धी विषयमा विगतमा नेपाल सरकारसँग भएका सहमतिहरू तत्काल कार्यान्वयन गर्न माग गरेको छ । यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पटक–पटक मन्त्रीस्तरीय तथा सचिवस्तरीय छलफल भए पनि मागको सुनुवाइ नभएको समितिको भनाइ छ ।

यही मागलाई लिएर भोलिदेखि सुरु हुने आमरण अनशनको नेतृत्व नेपाल सिएमए संघका केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्यायले गर्ने जनाइएको छ । अनशन कार्यक्रम अनिश्चितकालसम्म सञ्चालन गरिने बताइएको छ ।

आन्दोलनमा नेपाल डेन्टल साइन्स हाइजिनिष्ट एसोसिएसनरनेपाल डेन्टल हाइजिनिष्ट एसोसिएसनका संयोजक माइकल देवकोटा, सह–संयोजक प्रदीप तामाङ, नेपाल जनस्वास्थ्य संघका अध्यक्ष तेजप्रसाद दुलाल, मेडिकल ल्याबोरेटोरी एसोसिएसन अफ नेपालका अध्यक्ष राजेन्द्र खड्का तथा नेपाल सिएमए संघकी प्रतिनिधि बिन्दु प्रजापतिलगायत विभिन्न स्वास्थ्य पेशागत संघ–संस्थाहरूको ऐक्यबद्धता रहेको छ ।

संयुक्त संघर्ष समितिले समग्र स्वास्थ्य सेवाको गुणस्तर, पेशागत मर्यादा र जनपक्षीयता सुनिश्चित गर्ने उद्देश्यले सुरु गरिएको यस आन्दोलनमा सहभागी हुन सम्पूर्ण स्वास्थ्यकर्मी, सरोकारवाला निकाय, पत्रकार तथा आम जनसमुदायलाई आह्वान गरेको छ ।

 प्रकाशित :-  २०८२ पौष २९, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय