काठमाडौं: प्रख्यात नेत्र चिकित्सक डा. सन्दुक रुइतले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै सोमबार वक्तव्य जारी गरेका छन्। भदौ २३ र २४ मा राजनीतिक अव्यवस्था र भ्रष्टाचारविरुद्धको प्रदर्शनमा ज्यान गुमाउनेप्रति शोक व्यक्त गर्दै उनले पीडित परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
डा. रुइतले आफ्नो लामो चिकित्सकीय यात्रामा सबै तह–तप्काबाट पाएको साथ, सद्भाव र माया भविष्यमा पनि निरन्तर रहिरहने विश्वास व्यक्त गरे। उनले राजनीतिक उथलपुथलपछि नेतृत्व गर्न आग्रह आउने गरेको स्मरण गर्दै आफू सधैं स्वास्थ्य सेवा र बिरामीको हितमै समर्पित रहने स्पष्ट पारे। “मेरो साधना अन्धोपन निवारण हो,” उनले भने, “नेपाली र संसारभरका बिरामीलाई सेवा गर्नु नै मेरो जीवनको लक्ष्य हो।”
उनले आफ्नो हृदय सफा रहेको र प्राप्त स्नेहमै खुसी रहने बताए। साथै, सबै पेशा, कर्म र व्यवसायमा इमान्दारीपूर्वक लागेमा देश परिवर्तनमा धेरै समय नलाग्ने धारणा व्यक्त गरे। “अबको समय भनेको सबै जुटेर देश बनाउनुपर्ने हो,” वक्तव्यमा उल्लेख छ।
डा. रुइतले नेपाल र नेपालीको नाम संसारभर पु¥याउन निरन्तर योगदान दिने प्रतिबद्धता दोहोर्याए।

