काठमाडौं । जेनजी आन्दोलनका कारण अवरुद्ध बनेको शैक्षिक सत्रलाई निरन्तरता दिन निजी विद्यालय सञ्चालक संघसंस्थाहरूले आइतबारदेखि अनुकूलता हेरी क्रमशः विद्यालय खोल्ने निर्णय गरेका छन्। नेपाल मन्टेश्वरी एशोसिएसन (एनएमए), अपेन, हिसान, नेशनल प्याब्सन र प्याब्सनले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका कारण रोकिएको पठनपाठन पुनः सुरु गर्ने तयारी गरेको जनाएका हुन्।

विज्ञप्तिमा आन्दोलनमा ज्यान गुमाएका विद्यार्थी, युवा, प्रहरी र सर्वसाधारणप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरिएको छ। साथै मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको तत्काल उपचार सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ।

संघसंस्थाहरूले घाइते तथा अभिभावक गुमाएका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने प्रतिबद्धता पनि जनाएका छन्। विज्ञप्तिमा आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको ठूलो क्षतिप्रति दुःख व्यक्त गर्दै अब परिस्थिति क्रमशः सामान्य हुँदै जाने विश्वास व्यक्त गरिएको छ।

अन्तरिम सरकार गठन भइसकेको र कर्फ्यु तथा निषेधाज्ञा हट्दै गएको सन्दर्भमा अभिभावक, शिक्षक, विद्यार्थी र नागरिक समाजलाई संयमित रहन र शिक्षालाई प्राथमिकता दिन अपिल गरिएको छ।

 प्रकाशित :-  २०८२ भाद्र २८, शनिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय