काठमाडौं । अनसनरत प्रा.डा गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ । कैलालीको गेटा अस्पतालमा अनसनरत डा.केसीको मुटुको चालमा गडबडी हुने र मांशपेसी दुख्ने, बाउडीने समस्या देखिएको हो । डा.केसीले आइतबारदेखि २३ औं अनसन सुरु गरेका हुन् ।
डा.केसीसँगै रहनुभएका गेटा अस्पतालका चिकित्सक डा.अमृत जैशीले भन्नुभयो, “आज विहान गरिएको परिक्षणबाट डा केसीको रगतम सुगरको मात्रा ३७ एमजी\डीएल पाइएको छ र यसकासाथै मुटुको चलमा गडबडी हुने मांसपेसी दुख्ने बाउडिने लागायत समस्या देखा परेका छन तथापी डा केसीले चिकित्सकको सल्लाह अनुसार थप उपचार गर्न मान्नुभएको छैन र अनसनलाइ निरन्तरता दिने बताउनुभएको छ ।”
चिकित्सा शिक्षा आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको बैठकले निजी मेडिकल कलेजहरुको सिट संख्या थप्ने निर्णय गरेको विरोधमा डा. केसीले अनसन सुरु गरेका हुन् ।
डा. केसीले आयोगको उक्त निर्णयले गुणस्तरमा असर गर्ने भन्दै निर्णय फिर्ताका लागि आग्रह गरेका थिए । तर उनको आग्रहका विषयमा सरकारले कुनै काम अगाडि नबढाएपछि अनसन सुरु गरेका हुन् ।
आयोगले सरकारी संस्थामा एमबीबीएस तथा बीडीएसको सिट नबढाएर निजीको बढाउने निर्णय गरेको छ । एक सय सिट भएका मेडिकल कलेजलाई १३० सिटसम्म दिने निर्णय आयोगले गरेको छ ।

