काठमाडौं । नेपालको फरेन्सिक चिकित्सा क्षेत्रमा क्रियाशील संस्था मेडिको–लिगल सोसाइटी अफ नेपाल’ (मेलिसन) को आज आइतबारदेखि राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलनको विषयवस्तु ‘न्याय र सार्वजनिक स्वास्थ्यका लागि फरेन्सिक चिकित्सा प्रणालीको सुदृढीकरण’ रहने उपाध्यक्ष डा. सिर्जना कुँवरले जानकारी दिइन् ।
दुई दिने कार्यक्रममा देशभरका फरेन्सिक चिकित्सकसँगै भारत र श्रीलंकाका विज्ञहरूको सहभागिता छ ।
कार्यक्रमको पहिलो दिन उद्घाटन सत्रपछि वैज्ञानिक तथा शैक्षिक प्रस्तुतिहरू रहेका थिए । सहभागी विदेशी विज्ञहरूले आफ्ना मुलुकका फरेन्सिक प्रणाली र अनुभव प्रस्तुत गर्ने डा. कुँवरले बताइन् । दोस्रो दिन अन्तर्राष्ट्रिय रेडक्रस समितिले ‘डिजास्टरमा मृत शरीर व्यवस्थापन’ विषयमा छलफल गर्नेछ । यसमा बेवारिसे र बेपत्ता व्यक्तिहरूको पहिचान, फर्म भर्ने प्रक्रिया र फरेन्सिक प्रमाणको व्यवस्थापनबारे प्रशिक्षण दिइनेछ ।
मेलिसनका करिब ६० सदस्यसहित करिब १०० जनाको सहभागिता रहने सम्मेलनमा न्यायिक प्रमाण सुदृढीकरण, स्वास्थ्य प्रणालीमा फरेन्सिकको भूमिका र आगामी सुधारका उपायबारे छलफल हुने आयोजकले जनाएको छ । सम्मेलन भोली सोमबारसम्म चल्नेछ ।

