काठमाडौ । गुरु पूर्णिमाको अवसर पारेर त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित भूगोल केन्द्रीय विभागमा अत्याधुनिक भौगोलिक सूचना प्रणाली(जि.आइ.एस) र दूरसम्वेदन (आर.एस.) प्रविधियुक्त प्रयोगशाला (हाईटेक ल्याब) को औपचारिक हस्तान्तरण सम्पन्न भएको छ।

नेपालमा प्रविधिनिर्भर शिक्षण, अनुसन्धान र नवप्रवर्तनलाई संस्थागत बनाउँदै भूगोल विषयलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकसित गर्ने उद्देश्यका साथ यो प्रयोगशाला स्थापना गरिएको हो।

समारोहको अध्यक्षता विभाग प्रमुख प्रा. डा. उमेशकुमार मण्डलले गर्नुभएको थियो भने प्रमुख अतिथि विश्वविद्यालय क्याम्पस प्रमुख प्रा. डा. अक्कल देव मिश्रले प्रयोगशालाको उद्घाटन गर्नुभएको थियो।

उहाँले उक्त प्रयोगशालालाई त्रिभुवन विश्वविद्यालयको शैक्षिक उत्कृष्टता केन्द्रका रूपमा चित्रण गर्दै भन्नुभयो, “यसले पठनपाठन, अनुसन्धान र सेवा तीनवटै क्षेत्रमा गुणस्तर वृद्धि गर्नेछ, जसले विश्वविद्यालयको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छविमा थप मजबूत ल्याउनेछ।”

विशिष्ट अतिथि विश्व विद्यालय क्याम्पसका पूर्व प्रिन्सीपल प्रा. डा. ध्यानेन्द्रबहादुर राईले विभागमा वर्षौँदेखि सञ्चालन हुँदै आएको १५ क्रेडिट घण्टाको जि.आइ.एस, आर.एस पाठ्यक्रमलाई प्रविधि अभ्याससँग जोड्न प्रयोगशालाको स्थापनाले ठूलो उपलब्धि दिएको बताउनुभयो।

विश्वविद्यालय क्याम्पसका प्रोक्टर डा. राजेन्द्रप्रसाद कोइरालाले प्रयोगशालाको समावेशी प्रयोग र अन्तरसंस्थागत सहकार्यको सम्भावनाबारे चर्चा गर्दै अब विभागले नीति निर्माता, अनुसन्धानकर्ता तथा सरकारी निकायहरूसँग प्रविधि साझेदारी गर्दै जान सक्ने धारणा व्यक्त गर्नुभयो।

समापन मन्तव्य दिँदै विभाग प्रमुख प्रा. डा. मण्डलले भूगोल विषयको अन्तर्विषयगत स्वरूपलाई स्पष्ट पार्दै भन्नुभयो, “जि.आइ.एस.र आर.एस. प्रविधिको माध्यमबाट विपद् जोखिम न्यूनीकरण, सहरी योजना, वातावरणीय अनुगमन, स्रोत व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन तथा भूराजनीतिक निर्णयमा ज्ञानको प्रत्यक्ष प्रयोग सम्भव हुन्छ।”

उहाँले हालै रसुवा जिल्लाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीलाई उदाहरण दिँदै भन्नुभयो, “यस प्रयोगशालामा उपलब्ध उपग्रह चित्र, ड्रोन नक्साङ्कन र हवाई तस्वीर विश्लेषण प्रविधिको प्रयोगबाट यस्ता विपद् घटनाहरूको समयमा विश्लेषण, पूर्वचेतावनी तथा क्षति न्यूनीकरण रणनीति विकास गर्न सकिन्छ। यो केवल शैक्षिक संरचना होइन, रणनीतिक उपकरण हो।”

विभागले जि.आइ.एस. र दूर सम्वेदन विषयलाई १५ क्रेडिट घण्टाको संस्थागत पाठ्यक्रमका रूपमा विकास गरेको छ। यस अन्तर्गत भूस्थानिक तथ्यांक विश्लेषण, भूप्रयोग तथा आवरण नक्साङ्कन, विपद् जोखिम मूल्यांकन, वातावरणीय परिवर्तन अध्ययन, जलवायु मोडेलिङ, सहरी विस्तार विश्लेषण, वन तथा जलाधार व्यवस्थापनजस्ता सान्दर्भिक र व्यवहारिक विषयवस्तुहरू समावेश छन्।

साथै विभागले ड्रोन प्रविधि, उपग्रह चित्र व्याख्या, हवाई तस्वीर विश्लेषण तथा जि.आइ.एस सफ्टवेयर सम्बन्धी तालिमहरू पनि सञ्चालन गर्दै आएको छ। प्रयोगशालाको स्थापनासँगै यी तालिम र कार्यक्रमहरूलाई अझ अन्तरक्रियात्मक, अनुसन्धानमुखी र अन्तर्राष्ट्रियस्तरको बनाउन सम्भव भएको छ।

कार्यक्रममा विभागीय गतिविधि, उपलब्धि र भावी योजनालाई समेटिएको भिडियो वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो, जसले त्रिभुवन विश्वविद्यालयको शैक्षिक योगदानलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको थियो । स्वागत मन्तव्य डा. छविलाल चिदीले दिनुभएको थियो भने कार्यक्रम सञ्चालन उपप्राध्यापक शेरबहादुर गुरुङले गर्नुभएको थियो।

विभागीय  प्रमुख डा. मण्डलले प्रयोगशाला निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने प्रा.डा. विनिल अर्याल, प्रा. डा. ध्यानेन्द्रबहादुर राई लगायत सम्पूर्ण सहयोगीप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो।

यस प्रयोगशालाको स्थापनाले त्रिभुवन विश्वविद्यालयको भूगोल केन्द्रीय विभागलाई राष्ट्रिय भूस्थानिक नेतृत्वदायी संस्था बनाउने दिशामा महत्वपूर्ण पाइला अगाडि बढाएको छ।

यसले शिक्षण, अनुसन्धान, नीति निर्माण र प्रविधि हस्तान्तरणका माध्यमबाट नेपालको भूस्थानिक योजना र अन्तरिक्ष प्रविधिको दीर्घकालीन विकासमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास गरिएको छ।

 प्रकाशित :-  २०८२ अषाढ २७, शुक्रबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय