काठमाडौंः नेपालमै कोरियन प्रबिधिमा पशु औषधि उत्पादन गरिने भएको छ । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड (केपीएल) र दक्षिण कोरियाको प्रतिष्ठित बहुराष्ट्रिय कम्पनी के.बी.एन.पी कोरियाबीच नेपालमा पशु औषधि उत्पादनका लागि प्राविधिक सम्झौतामा हस्ताक्षर भएको छ ।

नयाँ बानेश्वरमा बुधबार आयोजित कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल र पशु सेवा विभागका सहसचिव डा सलिना मानन्धरको उपस्थितिमा कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडका तर्फबाट अध्यक्ष श्री हेमराज बडाल तथा केबिएनपीका तर्फबाट श्री हानी स्वङगबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतासँगै कान्तिपुर फर्मास्युटिकल्सले के.बी.एन.पी कोरियाको अत्याधुनिक प्रविधि र विशेषज्ञता प्रयोग गरी नेपालमै उच्च गुणस्तरको पशु औषधि उत्पादन गर्ने दावि गरिएको छ । यो सहकार्यले नेपाली पशुपालन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने, मुख्यतया आयात प्रतिस्थापन गर्ने र नेपाली किसानहरूलाई सुलभ मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडलाई केबिएनपिले लामो समयदेखि अनुसन्धानात्मक कार्यहरूमा सहयोग गर्दै आएको थियो । केबिएनपि कोरियाका दक्ष प्रबिधिकहरुबाट सन् २०२५ जनवरी ८ मा केपिएल को क्वालिटी अडिट सफल भएको थियो । सो अडिटको आधारमा कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडसंग केबिएनपीले सहकार्य गरेको कम्पनीका प्राविधिक प्रमुख विवेक सिंह महतले जानकारी दिए ।

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडका अध्यक्ष हेमराज बडालले केबीएनपी कोरिया जस्तो बहुराष्ट्रिय कम्पनीसँगको यो सहकार्य हाम्रो लागि गौरवको विषय उल्लेख गर्दै यसले नेपालमै अन्तर्राष्ट्रिय स्तरको पशु औषधि उत्पादन गर्ने हाम्रो क्षमतालाई अभिवृद्धि गर्नेछ र नेपाली पशुधनको स्वास्थ्य सुधारमा ठोस टेवा पुग्ने बताए । “यो प्राविधिक सहकार्यले नेपालको पशु औषधि उत्पादन क्षेत्रमा नयाँ आयाम थप्ने र देशलाई यस क्षेत्रमा आत्मनिर्भर गराई निर्यात तर्फ उन्मुख गराउन मद्दत पुग्ने विश्वास लिइएका छौ ।”

यस्तै केबीएनपी कोरियाका हानी स्वङगले भने “कान्तिपुर फर्मास्युटिकल्ससँग सहकार्य गर्न हामी उत्साहित र खुसी छौ । नेपालको पशु औषधि बजारमा प्रचुर सम्भावना देखेका छौं र हाम्रो प्राविधिक ज्ञान र कान्तिपुर फर्मास्युटिकल्स ल्याबको गुणस्तरिय उत्पादन प्लान्ट तथा बजार व्यबस्थापन विशेषज्ञताको संयोजनले यहाँ उत्कृष्ट नतिजा दिनेमा विश्वस्त छौं ।” काभ्रेस्थित पाँचखाल नगरपालिका–७ संचालनमा रहेको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड नेपालको एक अग्रणी पशु औषधि तथा पशु आहार पूरक उत्पादक कम्पनी हो । हालसम्म यस कम्पनिमार्फत विभिन्न २६ वटा आहारपुरक पदार्थहरुको विभिन्न नाम तथा ब्रान्डहरुको सप्लीमेन्ट्सहरु बजारमा बिक्री वितरण भई रहेको छ तथा एलोपेथिक औषधि तर्फ ७० वटा विभिन्न औषधिको बजारीकरण अनुज्ञापत्रहरु तथा ४० वटा औषधिको उत्पादन अनुज्ञा पत्रहरु नियमक औषधि व्यवस्था विभाग मार्फत प्राप्त भइसकेको छ ।

केबिएनपी दक्षिण कोरियाको एक बहुराष्ट्रिय पशु स्वास्थ्य उत्पादन कम्पनी हो ।

 प्रकाशित :-  २०८२ जेष्ठ १, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय