काठमाडौं । आन्दोलनरत चिकित्सकले शुक्रवार देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् ।
आवासीय चिकित्सकलाई सरकारी आठौं तह बरावरको मासिक निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने माग राख्दै देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका हुन् ।
नेपाल चिकित्सक संघका अनुसार देशभरका अधिकांश सरकारी अस्पताल, मेडिकल कलेज र केही निजी अस्पतालको सेवा रोकिएको छ । जसका कारण विरामी मर्कामा परेका छन् । चिकित्सकहरु माइतिघरमा धर्नामा बस्दै माग पुरा गराउन सरकारलाई दवाव दिएका छन् ।
चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले ४८ हजार सात सय रुपैंया मासिक निर्वाह भत्ता दिने निर्णय गरेपनि निजि मेडिकल कलेज सञ्चालकले सो रकम दिन नसक्ने बताएपछि चिकित्सकहरु आन्दोलनमा उत्रीएका हुन् । तर, निजि मेडिकल कलेज सञ्चालकहरुले आफूहरुलाई घाटा हुने बताएका छन् ।
हिजो विहीवार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र चिकित्सकविचको वार्तामा स्वास्थ्य मन्त्री पौडेलले निजि मेडिकल कलेजले निर्वाह भत्ताको निर्णय तत्कालै कार्यान्वयन नगरे तालुकदार मन्त्रालयसँग निजी मेडिकल कलेजसँग जोडिएका कामहरु अगाडि नबढ्ने बताए । तर, चिकित्सकहरुले निर्वाह भत्ता कार्यान्वयनको सुनिश्चितता नहुँदासम्म आन्दोलन जारी रहने बताएका छन् । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक डा. आयुष गौतमले आवासीय चिकित्सकहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएको बताए ।
चिकित्सक संघले देशभरका अस्पताल, मेडिकल कलेज र स्वास्थ्य संस्थाहरुमा आकस्मिक तथा सघन उपचार सेवा बाहेकका सबै सेवा अवरुद्ध गर्ने निर्णय गरेको थियो ।

