काठमाडौं । आवासिय चिकित्सकहरुलाई आठौं तहको मासिक निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोग १६ औं वैठकको निर्णय कार्यान्वयन नभएको भन्दै चिकित्सकहरुले आज विहिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्दै छन् । आयोगको १६ औँ बैठकको निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने माग राख्दै नेपाल चिकित्सक संघको नेतृत्वमा स्वास्थ्य मन्त्रालयमा घेराउ गरेका हुन् ।
चिकित्सकहरुले देशभरका सम्पूर्ण चिकित्सकहरुलाई विहान १० देखि १२ बजेसम्म सम्वन्धित जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्न तथा काठमाडौँ उपत्यका भित्रका चिकित्सकलाई माईतीघरमा उपस्थित भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्न आव्हान गरेको थियो ।
चिकित्सक संघले १६ औँ बैठकको निर्णय अनुसार निर्वाह भत्ता मेडिकल अधिकृत सरहको हुनुपर्ने भन्दै २९ दिनदेखि आव्हान गरे पनि राज्यले वेवास्ता गरेको चिकित्सकहरुको आरोप छ ।
देशभरका दुई हजार चार सय आवासिय चिकित्सकहरु आन्दोलनरत छन् । आवासिय चिकित्सकहरुलाई निजि मेडिकल कलेजहरुले १७ हजार देखि १९ हजार आठ सय रुपैंयासम्म मासिक तलव दिदैं आएको छ ।

