शरद् शर्मा
काठमाडौँ, २८ चैत ः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुर्तीजन्य पदार्थको अगाडि र पछाडि सतप्रतिशत घातक चित्र राख्ने निर्णयमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले पुनरावलोकन गर्न आग्रह गरेको छ ।
उद्योग मन्त्रालयको औद्योगिक तथा लगानी प्रवद्र्धन महाशाखाका शाखा अधिकृत दुर्गा लम्सालले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गर्दै सुर्तीजन्य पदार्थको अगाडि र पछाडि सतप्रतिशत घातक चित्र राख्ने निर्णयमा पुनरावलोकन गर्न आग्रह गरेको जानकारी गराइन् ।
उद्योग विभागले सुर्तीजन्य पदार्थको अगाडि र पछाडि सतप्रतिशत घातक चित्र राख्नेबारे सरोकारलावालाबीच छलफल गरेको थियो । सो छलफलमा सुर्तीजन्य पदार्थको अगाडि र पछाडि सतप्रतिशत घातक चित्र राख्ने नीतिगत तथा कानूनी व्यवस्थामा पुनरावलोकन गर्न आग्रह गरिएको उनले बताइन् ।
उनले हाललाई उद्योग व्यवसायलाई प्रभाव पर्ने कुनै नयाँ व्यवस्था नगर्ने गरि सहज औद्योगिक वातावरणका लागि सम्बन्धित पक्षबाट अनुरोध आएकोले सतप्रतिशत चित्र राख्ने कुरामा पुनरावलोकन गर्न आग्रह गरेको बताइन् ।
स्वास्थ्य मन्त्रालयले तयार पारेको ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्स, पेटी तथा पार्सल, प्याकेजिङ्गमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अङिकत गर्ने निर्देशिका, २०८१’ मा चुरोट र सुर्तीजन्य पदार्थको अगाडि र पछाडिको शत प्रतिशत भागमा घातक रङ्गिन चित्र र चेतावनीमूलक सन्देश छाप्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । उक्त व्यवस्था आगामी साउनदेखि चुरोट, खैनी, गुटखा, बिडी लगायत सुर्तीजन्य पदार्थमा अगाडि र पछाडिको शत प्रतिशत भागमा घातक रङ्गिन चित्र अनिवार्य छाप्नुपर्ने हुन्छ ।
स्वास्थ्य मन्त्रालयका कानून शाखाका प्रमुख गोपीकृष्ण रेग्मीले निर्देशिकामा भएको व्यवस्थाबाट आफूहरु पछि नहट्ने जानकारी दिए ।
“सुर्तीजन्य पदार्थको अगाडि र पछाडिको शत प्रतिशत भागमा घातक रङ्गिन चित्र राख्नाले सुर्तीजन्य सेवन गर्नेलाई निरुत्साहित गर्नका व्यापक छलफलपछि निर्देशिका बनाइएको हो,”उनले भने “निर्देशिकामा भएको व्यवस्थालाई उद्योग मन्त्रालयलाई पुनरावलोकन गर्न भनेको छ । हामी निर्देशिकामा भएको व्यवस्था अनुसार साउनदेखि सुर्तीजन्य पदार्थको सतप्रतिशत घातक रङ्गिन चित्र राख्ने व्यवस्था कार्यन्वयन गराउँछौ ।”
निर्देशिकामा चुरोट, खैनी, विडी र गुट्खाको बट्टा, प्याकेट र ¥यापर्सको मुख्य भागको अगाडि र पछाडिको शत प्रतिशत भागमध्ये ८० प्रतिशत भागमा क्यान्सर, मृत्यु जस्ता घातक रङ्गिन चित्र र २० प्रतिशत भागमा चेतावनीमूलक सन्देश राख्नुपर्ने व्यवस्था गरिएको छ ।
निर्देशिका अनुसार चुरोटको बट्टा, प्याकेट र ¥यापर्सको मुख्य भागको अगाडि र पछाडिको शत प्रतिशत भागमध्ये ८० प्रतिशत भागमा घाँटीको क्यान्सर अङकित चित्र, कमतौल भएको, अपाङ्ता भएको वा मरेको बच्चा जन्मेको अङकित चित्र चित्र, मुखको क्यान्सरको अङकित चित्र, ह्दयघातको अङकित चित्र र फोक्सोको क्यान्सर अङकित चित्र राख्न भनिएको छ ।
यस्तै चुरोटको बट्टा, प्याकेट र ¥यापर्सको मुख्य भागको अगाडि र पछाडिको शत प्रतिशत भागमध्ये २० प्रतिशत भागमा ‘सूर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, धूम्रपानले ज्यान लिन्छ’ ‘सुर्तीजन्य पदार्थको सेवनले मुख तथा घाँटीका क्यान्सर हुन्छ र चुरोट, खैनी सुर्तीसेवन छाडौँ भन्ने राख्नुपर्ने उल्लेख छ ।
यसैगरी, खैनी, सुर्ती र गुट्खा जस्ता सुर्तीजन्य पदार्थको बट्टा प्याकेट र ¥यापर्समा अगाडि र पछाडिको ६० प्रतिशत भागमा मुखको क्यान्सर अङ्कित चित्र र अगाडिको बाँकी रहेका ४० प्रतिशत भागमा २०÷२० प्रतिशतका दुई वटा चेतावनीमूलक सन्देश राख्नुपर्ने निर्देशिकामा भनिएको छ ।
यस्तै निर्देशिका अनुसार बिडीको बट्टा, प्याकेट र ¥यापर्सको मुख्य भागको अगाडि र पछाडिको शत प्रतिशत भागमध्ये ८० प्रतिशत भागमा घाँटीको क्यान्सर अङकित चित्र, कमतौल भएको, अपाङ्गता भएको वा मरेको बच्चा जन्मेको अङकित चित्र राख्न भनिएको छ ।
यस्तै बिडीको बट्टा, प्याकेट र ¥यापर्सको २० प्रतिशत भागमा चेतनामुलक सन्देश राख्नुपर्ने हुन्छ ।
यस्तै निर्देशिकामा सुर्तीजन्य पदार्थको पेटी, पार्सल, प्याकेजिगमा छापिने सन्देश पनि पाँचवटा घातक रंगिन चित्र ८० प्रतिशतमा र चेतनामुलक सन्देश २० प्रतिशतमा छाप्नुुपर्ने उल्लेख गरिएको छ ।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ ले ऐनमा भएको सुर्तीजन्य पदार्थका प्याकेटमा ७५ प्रतिशत चेतावनीमूलक चित्र तथा सन्देशलाई बढाएर ९० प्रतिशत पुर्याएको मन्त्रालयका सूचना अधिकारी डा.भक्त केसीले जानकारी दिए ।
नेपालले ७५ बाट ९० प्रतिशत चेतावनीमूलक चित्र तथा सन्देश पु¥याउँदा ब्लुमबर्ग अवार्ड समेत प्राप्त गरेको थियो ।
उनले सुर्तीजन्य पदार्थमा सतप्रतिशत चेतनामुलक चित तथा सन्देश राख्दा सेवनकर्ता चुरोट, सुर्ती, गुटखा खान डराउने भएकोले विक्रि वितरण पनि कम हुने बताए । “चुरोट, खैनी, गुटखामा भएको घातक चित्रले सेवनकर्ता डराउने र विस्तारै सेवन गर्न छाड्ने छन्” उनले भने,“ नयाँ सेवनकर्ता पनि घातक चित्र र चेतनामुलक सन्देशले नखाने विश्वव्यापी मान्यता रहेको छ ।”
निर्देशिकामा घातक चित्रका रङ्ग पनि नराम्रो खालको मान्छले मन नपराउने राख्न भनिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपालमा समेत यस्तो चेतावनीले काम गरिरहेकामा अब संसोधित निर्देशिकाले सूर्ती चुरोटको प्रयोगकर्ता घट्ने र क्यान्सर तथा अन्य रोगहरुमा कमी हुने बताए ।
मन्त्रालयका अनुसार नेपालमा हरेक वर्ष २७ हजार भन्दा बढी मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ ।
अभिभावकले धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिका र परिवारका अन्य सदस्यहरुमा श्वासप्रश्वास सम्बन्धी समस्या, मुटु रोग, क्यान्सर लगायतका स्वास्थ्य जोखिम बढाउँछ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद गरेको सर्वेक्षणमा नेपालमा २८.९ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने पाइएको छ । तिमध्ये ४८.३ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गर्दछन् ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार विश्वमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनको कारण ८० लाख मानिसको मृत्यु हुने गरेको छ । ती मध्ये ७० लाखभन्दा बढीको मृत्यु प्रत्यक्ष सुर्तीजन्य पदार्थको प्रयोगका कारण हुने गरेको छ भने धुम्रपान नगर्ने तर अन्य व्यक्तिले गरेको धुम्रपानबाट उत्पन्न धुवाँका कारण करिब १२ लाखभन्दा बढीको मृत्यु हुने गरेको छ ।

