काठमाडौं । चिकित्सा शिक्षा आयोगले निजी मेडिकल तथा डेन्टल कलेजहरुको सिट संख्या घटाएर म्याचिङ प्रक्रिया अघि बढाएको भन्दै पिजी प्रवेश परीक्षामा सहभागी परीक्षार्थीहरुले कानुनी उपचार खोज्न बाध्य भएको बताएका छन् । आन्दोलनरत परीक्षार्थीहरुले आज सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अहिलेको म्याचिङ प्रक्रिया तत्काल रोक्न माग गरेका हुन् ।
आन्दोलनरत परिक्षार्थीहरुले आयोगको निर्णयले आठ सय परिक्षार्थीहरुले सिट गुमाउनु परेको बताएका छन् ।
परिक्षार्थीहरुले जारि गरेको वक्तव्यमा भनिएको छ, ‘आयोगको १७ औं वैठकमा नेपाल सरकारका शैक्षिक संस्थाहरुमा एमडी,एमएस तथा एमडीएसको सिट संख्या २३१ ले थप गर्ने भनि निर्णय गरिएको थियो । सोहि निर्णय अनुसार फागुन ५ गते सिट संख्या बढाई सरकारी र निजि मेडिकल कलेजमा गरि जम्मा एक हजार चार सय ९६ सिट पुर्याइएको थियो । ’ आयोगको वार्षिक क्यालेण्डर अनुसार गत चैत १४ गते आयोगले सूचना प्रकाशित गरि सीट संख्या पुनः घटाएर ६७० पुर्याएपछि परीक्षार्थीहरुले आपत्ती जनाउँदै आएका छन् । उनीहरुले निर्णय पुनरावलोकन गर्न आयोगलाई ध्यानाकर्षण गराएका छन् ।
पीजी परीक्षार्थी डा. सरोज यादवले परीक्षार्थीमाथी अन्याय भएको भन्दै तत्काल निर्णय सच्याउन आयोगलाई आग्रह गरे । उनले आयोग गैरजिम्मेवार बने कानुनी उपचारमा जाने बताए ।

