सिमकोट, । हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा गएको शनिबारदेखि मौसमी फ्लुका बिरामीको सङ्ख्या बढेको छ । अदानचुली–५ र ६ मा मौसमी फ्लुका बिरामीको चाप बढेपछि स्वास्थ्य संस्था भरिएको स्वास्थ्यकर्मीको भनाइ छ ।

अदानचुली–६ मा पर्ने लमही गाउँबाट फैलिएको मौसमी फ्लुको प्रकोप रोक्न लौठी स्वास्थ्यचौकीले शिविर सञ्चालन गरेको थियो । शिविर सञ्चालन गरेपछि सामान्य रुपमा नियन्त्रणमा आए पनि सोही वडाकै पाल्स, काँखे बारीगाउँ र करगहीमा नयाँ बिरामी देखा परेको लौठी स्वास्थ्यचौकीका प्रमूख नवराज भण्डारीले बताए । स्वास्थ्य शिविरमा एक सय ४९ जना बिरामीको उपचार गरेको उनले जानकारी दिए ।

लमहीमा फ्लुका बिरामी नियन्त्रणमा आए पनि अन्य बस्तीमा फैलिँदै गएको इन्चार्ज भण्डारीले बताए । बिरामीले स्वास्थ्य संस्था भरिएपछि बहिरंग सेवाबाट उपचार गरिरहेको उनको भनाइ छ ।

अदानचुली गाउँपालिकाको केन्द्र रहेको श्रीनगर स्वास्थ्यचौकीमा पनि केही दिनयतादेखि बिरामीको चाप बढदो छ । तर एक जना मात्र स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् । अन्य स्वास्थ्यकर्मी तालिमका लागि स्वास्थ्य संस्था बाहिर रहेको श्रीनगर स्वास्थ्यचौकीका निमित्त इन्चार्ज प्रयोगलाल जैसीले बताए।

एक दिनमा ५० देखि ८० जना बिरामी उपचारका लागि आउने गरेको स्वास्थ्यचौकीका निमित्त इन्चार्ज जैसीले बताए । जैसीले भने, “अहिले स्वास्थ्यचौकीमा औषधि पर्याप्त मात्रामा छ । रोग फैलिए पनि रोग नियन्त्रका लागि गाउँपालिकाले औषधि पु(याएको छ ।”

श्रीनगर स्वास्थ्यचौकीमा उपचारका लागि आउने बिरामीको भीडबाट अरुलाई रोग सर्न सक्छ भनेर नियमित मास्क प्रयोग गर्न स्वास्थ्यकर्मीले जोड दिएका छन् ।

 प्रकाशित :-  २०८० चैत्र २५, आईतबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय