परिचय
भन्छन् नि, ‘‘ रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै उत्तम उपाय हो।’’ हो, त्यस्तै रोग लाग्न नदिन या रोगबाट बच्नका लागि निकै प्रभावकारी र महत्त्वपूर्ण उपायमध्ये खोप एक हो। खोपले हामीलाई धेरै किसिमका रोगबाट सुरक्षित राख्न सक्छ। धेरै रोगहरू खोप लगाएर पूर्ण रूपमा रोक्न पनि सकिन्छ।

सन् १७९६ मा वैज्ञानिक एडवर्ड जेनरले पहिलो पटक स्मालपक्स(विफर) विरुद्धको खोपको विकास गरेका थिए। त्यसपछि, यो खोप शब्दको विकास प्रसिद्ध वैज्ञानिक लुईस पास्चरले गरेका थिए। यी दुई वैज्ञानिकहरूको महत्त्वपूर्ण योगदानले खोपको क्षेत्रमा ठुलै परिवर्तन ल्यायो र यसले धेरै मानिसहरूको ज्यान बचायो। खोपको माध्यमबाट स्मलपक्स जस्तो सङ्क्रामक र घातक रोगलाई संसारबाट उन्मूलन गरीसकेको अवस्थामा यसले खोपलाई एउटा जीवन रक्षकको रूपमा बुझ्न थालिएको छ।

नेपालमा पनि सन १९७७ देखि खोप कार्यक्रमको शुरुवात गरिएको थियो र हाल नेपाल सरकारले विभिन्न १३ प्रकारका रोगहरूको विरुद्ध नियमित खोप तालिका मार्फत खोप उपलब्ध गराइरहेको छ। र यी १३ बाहेक अरु खोपहरू पनि नेपालका बजारहरूमा उपलब्ध छन्। यसले गर्दा विभिन्न खोपबाट बच्न सकिने रोगहरूको मृत्यु दरमा ठूलो कमी आएको छ।

हालै मात्र नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरको रोकथामका लागि एच.पि.भी. खोप अभियान चलाइरहेको छ र यसपछि यस खोपलाई नियमित खोप तालिकाबाट पनि दिइने भएको छ। पाठेघरको मुखको क्यान्सर रोक्न एच.पि.भी.खोप दिने अभियान माघ २२ देखि फागुन ६ सम्म सञ्चालन भइरहेको छ।

एच.पि.भी. भाइरस भनेको के हो ?
एच.पि.भी. एक सामान्य भाइरस हो, जुन यौन सम्पर्कका माध्यमबाट सजिलै सर्न सक्छ। संसारभर धेरै मानिसहरू जीवनभरि कुनै न कुनै समयमा यस भाइरसको संक्रमणमा पर्छन्। यो भाइरसका धेरै प्रकार छन्, जसमा केही खतरनाक हुन्छन् र पाठेघरको मुखको क्यान्सर निम्त्याउन सक्छन्। धेरैजसो अवस्थामा शरीरको प्रतिरक्षा प्रणालीले यो भाइरसलाई हटाइदिन्छ, तर कहिलेकाहीँ भाइरस शरीरमा धेरै वर्षसम्म रहिरहँदा क्यान्सरको कारण बन्न सक्छ।

पाठेघरको मुखको क्यान्सर के हो ?

पाठेघरको मुख महिला प्रजनन प्रणालीको एक महत्त्वपूर्ण अंग हो। जब यसको कोषहरू अनियन्त्रित रूपमा बढ्न थाल्छन्, तब पाठेघरको मुखको क्यान्सर हुन्छ। विश्वभर महिलाहरूमा हुने क्यान्सरमध्ये यो चौथो स्थानमा आउँछ। प्रारम्भिक अवस्थामा कुनै लक्षण देखिंदैन, त्यसैले धेरै महिलाले समयमै पत्ता लगाउन सक्दैनन्।

यो किन खतरनाक छ ?
नेपालमा पाठेघरको क्यान्सर महिलाहरूमा हुने क्यान्सरमध्ये शीर्ष स्थानमा छ भने महिला र पुरुष दुवैमा हुने क्यान्सरमध्ये फोक्सोको क्यान्सरपछि दोस्रो स्थानमा छ। नेपालमा धेरै महिलाहरू यो रोगका कारण अकालमा ज्यान गुमाउँछन्। हरेक दिन करिब ४ जना महिलाको मृत्यु पाठेघरको मुखको क्यान्सरका कारण हुन्छ। यो रोग ढिलो पत्ता लाग्ने भएकाले उपचार गर्न गाह्रो हुन्छ। रोग फैलिसकेपछि उपचार निकै खर्चिलो हुन्छ साथै, मृत्युदर पनि उच्च छ। तर, राम्रो कुरा के छ भने समयमै खोप लगाएमा, यो क्यान्सरबाट बच्न सकिन्छ।

कसरी जोखिम कम सकिन्छ ?
सबैभन्दा प्रभावकारी उपाय भनेको एच।पि।भी। खोप लगाउनु हो। यसले पाठेघरको मुखको क्यान्सर निम्त्याउने भाइरसको संक्रमण हुनबाट बचाउँछ। साथै, नियमित रूपमा स्वास्थ्य परीक्षण गराउनु आवश्यक छ, विशेष गरी महिलाहरूले पाठेघरको मुखको जाँच समय समयमा गराउनुपर्छ। स्वस्थ जीवनशैली अपनाउन, धूम्रपान नगर्ने, र पोषणयुक्त खाना खाने जस्ता अभ्यासले पनि जोखिम घटाउन मद्दत गर्छ।

नेपालमा एच.पि.भी.खोप अभियान
नेपाल सरकारले विद्यालय जाने छात्राको हकमा कक्षा ६ देखि १० सम्म पढ्ने र विद्यालय नजाने १० देखि १४ वर्षका किशोरीहरूलाई निःशुल्क एच.पि.भी. खोप दिने निर्णय गरेको छ। यो खोप अभियान माघ २२ देखि फागुन ६ सम्म विद्यालयहरू र स्वास्थ्य केन्द्रहरू मा हुन गइरहेको छ । अभियानपछि कक्षा ६
मा अध्ययन गर्ने विद्यार्थी र विद्यालय नजाने विद्यार्थीहरूको हकमा १० वर्ष पुगेका बालिकाहरूलाई नियमित रूपमा यो खोप दिइनेछ। यसले पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।

एच.पि.भी. खोप किन अनिवार्य छ ?
नेपाल सरकार र विश्व स्वास्थ्य संगठनद्वारा प्रमाणित सुरक्षित र प्रभावकारी खोप हो। खोप लगाउँदा शरीरमा रोगसँग लड्ने क्षमता विकास हुन्छ, जसले एच।पि।भी। भाइरसको संक्रमणबाट बचाउँछ। यो खोपले ९० प्रतिशत सम्म पाठेघरको मुखको क्यान्सर निम्त्याउने भाइरसको संक्रमण रोक्न सक्छ।

खोप लगाउँदा के ध्यान दिनुपर्छ ?
खोप लगाएपछि केही सामान्य असरहरू हुन सक्छन्, जस्तै हात दुख्ने, हल्का ज्वरो आउने, वा थकान महसुस हुने। यी लक्षणहरू सामान्य हुन् र केही दिनमै आफैं ठीक हुन्छन्। तर, यदि गम्भीर समस्या देखिएमा वा असहज महसुस भएमा नजिकको स्वास्थ्य केन्द्रमा गएर परामर्श लिनु आवश्यक छ।

निष्कर्ष
पाठेघरको मुखको क्यान्सर रोक्न एच।पि।भी। खोप एक अत्यन्त महत्त्वपूर्ण र प्रभावकारी उपाय हो। यस खोपले पाठेघरको मुखको क्यान्सर निम्त्याउने भाइरसको संक्रमणलाई रोक्न मद्दत गर्छ। यो सुरक्षित खोप नेपाल सरकारले अभियान मार्फत निःशुल्क रूपमा लाखौँ बालिकाहरुलाई दिइरहेको छ, जसले भविष्यमा हुने लाखौँ महिलाहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनेछ।

(दाहाल  AMR Club of public enthusiast का अध्यक्ष हुन् भने वली AMR Club of public enthusiast  का सचिव हुन् ।)

 प्रकाशित :-  २०८१ माघ २३, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय