काठमाडौ, २० चैत । नेपालका स्थापित एवं वरिष्ठ सर्जिकल अन्कोलोजिस्ट डा. प्रकाशराज न्यौपानेको ६४ वर्षको उमेरमा शुक्रबार बिहान पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको छ। विगत एक वर्षदेखि ‘कोल्यान्जियो कार्सिनोमा’ (पित्तनलीको क्यान्सर) बाट पीडित उनको डा. अरुण शाहीको नेतृत्वमा उपचार भइरहेको थियो। सर्जिकल अन्कोलोजीमा पीएचडी गर्नुभएका डा. न्यौपानेलाई क्यान्सर उपचार क्षेत्रका एक कुशल चिकित्सक र मार्गदर्शकका रूपमा लिइन्छ।
डा. न्यौपानेले भक्तपुर क्यान्सर अस्पतालको मेडिकल डाइरेक्टर तथा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनको अध्यक्षको रूपमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएको थियो। हाल उनी सर्जिकल अन्कोलोजी सोसाइटीका अध्यक्ष हुनुका साथै बी एण्ड बी अस्पताल र काठमाडौँ क्यान्सर सेन्टरमा वरिष्ठ कन्सल्टेन्टका रूपमा कार्यरत हुनुहुन्थ्यो। उनले जटिल प्रकारका क्यान्सर शल्यक्रियाहरूमा विशेष दक्षता हासिल गर्नुभएको थियो।
नेपालमा क्यान्सर उपचार सेवाको विस्तार र स्तरोन्नतिमा डा. न्यौपानेको अतुलनीय योगदान रहेको छ। विशेषगरी भरतपुर, भक्तपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको विकासमा उनले निर्वाह गरेको सक्रिय भूमिकाका कारण उनलाई स्वास्थ्य क्षेत्रले सदैव स्मरण गर्नेछ। उनको निधनले नेपालको स्वास्थ्य जगत, विशेषगरी क्यान्सर उपचारको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।

