काठमाडौं, १८ चैत । कैलाली निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य डा. आनन्द बहादुर चन्दले थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा रहेको सिकल सेल र थालासेमिया रोगको रोकथामका लागि नीतिगत र प्राविधिक पहल सुरु गर्नुभएको छ।

सांसद डा. चन्दले यी वंशाणुगत रगतसम्बन्धी रोगहरूको दीर्घकालीन समाधानका लागि वीर अस्पतालका वंशाणुगत रोग विशेषज्ञ डा. निलम ठाकुर र रक्तरोग विशेषज्ञ डा. नीरज सिंहसहितका विज्ञहरूसँग विस्तृत छलफल गर्नुभएको छ। छलफलमा थारू समुदायका नेताहरू लक्ष्मण थारू र प्रकाश विष्टको समेत सहभागिता थियो।

विज्ञहरूसँगको परामर्शपछि सांसद डा. चन्दले कैलाली–५ लगायत थारू बाहुल्य क्षेत्रमा रोगको जोखिम उच्च रहेकाले अब ‘मास स्क्रिनिङ’ (सामूहिक परीक्षण) र जनचेतना अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभयो। “हाम्रो प्राथमिकता थारू समुदायमा देखिने यी जटिल रोगहरूको सहज उपचार र रोकथाम नै हो,” उहाँले भन्नुभयो, “विज्ञहरूबाट प्राप्त सुझावका आधारमा अब उपचार सेवा विस्तारका लागि ठोस कदम चालिनेछ।”

यसअघि हिजो मात्रै सांसद डा. चन्दले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर यो विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो। भेटका क्रममा उहाँले सिकल सेल र थालासेमियाको परीक्षण तथा उपचारका लागि विशेष बजेट विनियोजन गर्न माग गर्नुभएको छ।

प्रधानमन्त्रीसँगको भेट र विशेषज्ञहरूसँगको छलफलपछि अब प्राविधिक तथा नीतिगत रूपमा ठोस काम अघि बढाउने प्रतिबद्धता डा. चन्दले व्यक्त गर्नुभएको छ। पश्चिम तराईका थारू समुदायमा दशकौँदेखि देखिएको यो स्वास्थ्य समस्या समाधानका लागि जनप्रतिनिधिको तहबाट भएको यो सक्रियतालाई महत्वका साथ हेरिएको छ।

 प्रकाशित :-  २०८२ चैत्र १८, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय