काठमाडौँ, १६ चैत । आन्तरिक विवाद र अदालतको आदेशका कारण रोकिएको नेपाल चिकित्सक संघको निर्वाचन प्रक्रिया पुनः सुरु हुने भएको छ। संघको कार्यालयमा आज बसेको सर्वपक्षीय बैठकले निर्वाचन तालिकामा आवश्यक संशोधन गर्दै मतदानको नयाँ मिति तय गरेको हो।
नयाँ कार्यतालिका अनुसार निर्वाचन दुई चरणमा सम्पन्न गरिनेछ ।
उपत्यकाबाहिर: २०८३ वैशाख ४ र ५ गते मतदान हुनेछ।
काठमाडौँ उपत्यकाभित्र: २०८३ वैशाख १७ र १८ गते मतदान हुनेछ।
यसअघि गत माघ महिनामै हुनुपर्ने निर्वाचन उम्मेदवारी सम्बन्धी विवाद सर्वोच्च अदालतसम्म पुगेपछि अनिश्चितकालका लागि स्थगित भएको थियो। अदालतको आदेश र संघभित्रको आन्तरिक छलफलपछि निर्वाचन समितिले वैशाख ११ गतेका लागि तालिका सार्वजनिक गरेको भए पनि, सर्वपक्षीय सहमतिका आधारमा आज पुनः मिति परिमार्जन गरिएको हो।
संघका अनुसार सबै पक्षको भावनालाई समेट्न र निर्वाचनलाई मर्यादित रूपमा सम्पन्न गर्न यो संशोधित तालिका ल्याइएको हो। यो निर्णयसँगै लामो समयदेखि नयाँ नेतृत्वको पर्खाइमा रहेका देशभरका चिकित्सकहरूमा उत्साह छाएको छ।

