काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको नयाँ नेतृत्व चयन प्रकृया अझै अन्यौल देखिएको छ । निर्वाचन की सर्वसम्मत टुंगो लगाउने भन्नेबारे अझै अन्योल छ ।
पार्टीका स्वास्थ्य विभाग इन्चार्ज कृष्णगोपाल श्रेष्ठले महासंघका वर्तमान महासचिव डा. सन्तोष पौडेलको नाम बन्दसत्रमा अध्यक्ष पदका लागि अगाडी सारेपछि प्रतिनिधिहरुले नारावाजी गरेका थिए ।
डा.पौडेलको नाम इन्चार्ज श्रेष्ठले लिनासाथ प्रतिनीधिहरुले हुँदैन भन्दै नारावाजी गरेका थिए । डा. पौडेले मञ्च अगाडि बढेको वेला नै त्यो नाम हुँदैन भनेर नारावाजी गर्दै निर्वाचनको माग गरेका थिए ।
निर्वाचनमा प्रतिनिधिहरुबिच हात हालहाल समेत भएको थियो । त्यसपछि पार्टीका स्वास्थ्य विभाग प्रमुख श्रेष्ठले भने, ‘हात हाल्ने पक्षको तर्फबाट माफी माग्दछुँ । यो स्थिती नआउनु पथ्र्यो ।’
प्रतिनिधीहरुले निर्वाचनको माग गरेपनि पार्टीले सर्वसम्मतमा नेतृत्व चयनको प्रयास गरिरहेको छ । डा.पौडेल वीर अस्पतालका पूर्व निर्देशक हुन् ।
अध्यक्षमा डा. झलक शर्मा गौतम, रामहरी ढकाल, जगत नेपाली, त्रिलोकचन्द्र गुरुङ, भीमराज सींहले उम्मेदवारी दिएपनि अन्तीममा पार्टीले डा.पौडेललाई अगाडी सारेको छ । यस्तै, उपाध्यक्षमा पुष्पराज खनाल र डा.पौडेलले उम्मेदवारी दिएपनि अध्यक्ष पदका उम्मेदवार रामहरी ढकाल सर्वसम्मत उपाध्यक्ष भएको पार्टीका स्वास्थ्य विभाग प्रमुख श्रेष्ठले बताए । महिला उपाध्यक्षमा शारदा खनाल, रुपा केसी, अञ्जु बस्नेतको उम्मेदवारी परेको छ । महासचिवमा मदनकुमार वली र अमृता बरालको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । यस्तै, उपमहासचिवमा खगराज पोख्रेल र अनुप केसीको उम्मेदवारी परेको छ । चार जना सचिवका लागि १३ जनाको उम्मेदवारी परेको छ ।
उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएपनि निर्वाचक मण्डलले अन्यौलका बिच नयाँ पदाधिकारीको नामावली सार्वजनिक गर्दैछ ।

