काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मूखको क्यान्सर विरुद्ध दिईन लागेको ह्यूमन प्यापिलोमा भाइरस (एचपिभी) खोप अभियानको तयारी अन्तीम चरणमा पुगेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना केन्द्रले आगामी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने एचपिभि खोप अभियानको संघ, प्रदेश र स्थानिय तहमा तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । विज्ञहरुका अनुसार एचपिभी भाइरसबाट पटक पटक संक्रमण भएर २० वर्षसम्म यो संक्रमण रह्यो भने पाठेघरको मुखको क्यान्सर हुन सक्छ ।

अभियानमा कक्षा ६ देखि १० सम्मका किशोरी र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरी समेटिनेछन् ।

परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा.अभियान गौतमका अनुसार १६ लाख ८८ हजार ७६८ किशोरीलाई एचपिभी खोप लगाइनेछ ।

कोशि प्रदेशमा २ लाख ५९ हजार ८८१, मधेश प्रदेशमा चार लाख ७ हजार ८८१, बागमती प्रदेशमा २ लाख ७३ हजार १२१, गण्डकी प्रदेशमा १ लाख १८ हजार ७७४ किशोरीलाई खोप लगाईने छ । यस्तै, लुम्वीनी प्रदेशमा २ लाख ९९ हजार चार सय ७१, कर्णाली प्रदेशमा एक लाख २८ हजार २९६ र सुदुरपश्चिम प्रदेशमा २ लाख एक हजार ९३४ किशोरीलाई खोप लगाइने खोप महाशाखाले जनाएको छ ।

नेपालमा हरेक वर्ष २ हजार एक सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ । खोप शाखा प्रमुख डा. गौतमले हरेक वर्ष एक हजार तीन सय १३ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको र औसतमा प्रत्येक दिन चार जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको बताए ।

परिवार कल्याण महाशाखाका प्रमुख डा.वीवेक लालले एचपिभी खोप सुरक्षित र प्रभावकारी रहेको बताए । डा.लालले भने, ‘यो खोप सुरक्षित र प्रभावकारी छ । विश्व स्वास्थ्य संगठनले गुणस्तरयुक्त भनि प्रमाणीत खोप मात्र नेपालमा खरिद गरिन्छ । यो खोप नेपालमा प्रदान गर्नका लागि औषधि व्यवस्था विभागबाट अनुमति लिइसकेका छौं ।’ अभियानका क्रममा प्रत्येक विद्यालयलाई खोप केन्द्रका रुपमा परिणत गरिनेछ ।

आज मंगलबार स्वास्थ्य शिक्षा सूचना केन्द्रले अभियानलाई सार्थक बनाउने बारे शिक्षा पत्रकार सञ्जाल(इजोन)संग छलफल गरेको थियो । संजालका उपाध्यक्ष मञ्जीमा ढकालले अभियानलाई सार्थक बनाउन सञ्चारकर्मीको भूमिका बारे प्रस्तुती प्रस्तुत गरेकी थिईन् । इजोनका अध्यक्ष ईश्वरराज ढकालले विद्यालय तहमा एचपिभी खोप अभियान प्रभावकारी बनाउन सके अभियानले सार्थकता पाउने बताए ।
एच.पि.भी खोप सिकोलिन कसरी दिइन्छ ?
खोप शाखाका प्रमुख डा.अभियान गौतमका अनुसार यो खोपको एक मात्रा ०.५ मिलिलिटर हो । यो खोप सुईको माध्यमबाट बाँया पाखुराको माथिल्लो बिच बाहिरी भागमा मासुभित्र दिनुपर्छ । पछिल्लो अध्ययन अनुसार यो खोप एक मात्रा लगाएपछि पूर्ण मात्रा हुन्छ । राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारीसले यो खोप एक मात्रा लगाउने खोप तालिका निश्चित गरिएको छ ।

 प्रकाशित :-  २०८१ माघ ८, मंगलबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय