काठमाडौँ २७ जेठ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आज काठमाडौँस्थित दुई महत्त्वपूर्ण स्वास्थ्य केन्द्रहरूको अनुगमन गरेका छन् ।
उनले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पुगेर त्यहाँको वस्तुस्थिति बुझ्दै विभिन्न कर्मचारीहरूसँग छलफल गरे ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको अनुगमनको क्रममा माननीय मन्त्रीज्यूले केन्द्रले हालसम्म गरेको कार्य प्रगतिको विवरण लिँदै चिकित्सक तथा अन्य कर्मचारीहरूले भोगिरहेका चुनौती र कठिनाइहरूको बारेमा जानकारी लिए ।
छलफलका क्रममा केन्द्रका निर्देशक डा।. प्रज्वल श्रेष्ठले निर्माण सम्पन्न भए पनि सङ्गठन तथा व्यवस्थापन सर्भे गरी आवश्यक पर्ने जनशक्तिको दरबन्दी यकिन र बजेट व्यवस्थापन नहुँदा केन्द्र मातहतमा रहेको छातीरोग अस्पताल सञ्चालन गर्न नसिएको बताए ।
त्यस्तै डा। श्रेष्ठले केन्द्रसँग औषधि तथा कार्तेजमा वफरस्टोकको लागि पर्याप्त बजेट नभएको, प्रत्येक प्रदेशमा डिआर रेफरल सेन्टर स्थापना तथा सञ्चालनको लागि पर्याप्त बजेट नभएको दुखेसो पोखे ।
मन्त्री यादवले छातीरोग अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘बाकी रहेका कामहरू सम्पन्न गर्दै अस्पताल सञ्चालनको प्रक्रिया सुरु गर्नुहोस्,’ उनले भने, ‘बजेट व्यवस्थापन मेरो जिम्मामा छ । त्यो जहाँबाट भए पनि म लिएर आउँछु ।’
त्यसै गरी मन्त्री यादवले आइतबार नै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अनुगमन गरे । उनले त्यहाँ पनि उपचाररत बिरामी, कुरुवासँगै कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूसँग छलफल गरे ।
छलफलका क्रममा अस्पतालका कार्यकारी निर्देशक डा। पुकारचन्द्र श्रेष्ठले केन्द्रले गरेको वार्षिक कार्यको बारेमा माननीय मन्त्रीज्यूलाई जानकारी गराउनुभयो । उहाँले साँघुरो भवन हुँदा अपेक्षित ढङ्गबाट सेवा प्रवाह गर्न नसकिएको बताए ।
मन्त्री यादवले केन्द्रले गरिरहेको कार्य प्रशंसनीय रहेको बताउँदै, प्रत्यारोपण केन्द्र साँघुरो ठाउँबाट सञ्चालन हुँदा आइरहेका समस्याहरू समाधान गर्न मन्त्रालय स्तरबाट आवश्यक कदम चाल्ने निर्देशन दिए । उनले आवश्यक बजेट व्यवस्थापनमा पनि मन्त्रालयको प्रतिबद्धता रहेको उल्लेख गरे।
उनले अनुगमनका क्रममा दुई केन्द्रमा भएका पूर्वाधार र अन्य प्राविधिक आवश्यकताहरू पूरा गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने आश्वासन पनि दिए ।

