काठमाडौं । शिक्षक महासंघ र सरकारबिच भएको सहमतिप्रति विद्यालयका कर्मचारिहरुले असन्तुष्ट जनाएका छन् । विद्यालयका कर्मचारीहरुले सहमतिपत्रमा आफूहरुको माग नसमेटिएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएका हुन् ।
विद्यालय कर्मचारि परिषद्का अध्यक्ष गंगाराम तिवारीले आज विहिवार बेलुकी आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने बताए । तिवारीले भने, विद्यालयका लेखापालको खरदार सहर ३२ हजार ९ सय २ रुपैयाँ र कार्यालय सहयोगीको २६ हजार ८२ रुपैयाँ बनाउने भनेर महासंघसँग हाम्रो सहमति भएको थियो । तर, सरकारसँग सम्झौता हुँदा तोकिए बमोजिम भनेर आयो । तोकिए बमोजिम भनेको कति हो ? स्पष्ट भएन । हाम्रो मागबारे सहमतिमा स्पष्ट भनिएन । ’
स्थायी शिक्षकका बारेमा मात्रै सहमति भएको तिवारीको आरोप छ । हिजो बुधबार सरकार र नेपाल शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको थियो ।

