काठमाडौं ३० चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको पत्थरी ९ढुंगा० सफल शल्यक्रिया गरी निकालिएको छ। त्रिवि शिक्षण अस्पतालमा डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको चिकित्सक टोलीले ओलीको शल्यक्रिया सम्पन्न गरेको हो।
चिकित्सकहरूका अनुसार ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा रहेको थियो। शल्यक्रिया पश्चात् उनलाई थप निगरानीका लागि अहिले आईसीयूमा सारिएको छ। नयाँ सरकार गठन भएको भोलिपल्ट नै जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका ओली पक्राउ परेको दिनदेखि नै स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका थिए।
ओलीकी पत्नी राधिका शाक्यले उनलाई गैरकानुनी हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्। २३ चैतमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैतसम्म टुंग्याउन निर्देशन दिएको थियो।
तोकिएको समयभित्र अनुसन्धान नसकिए ससर्त छाड्न अदालतको आदेश भए बमोजिम प्रहरीले उनलाई पत्नी राधिका शाक्यको जिम्मा लगाएको थियो। थुनामुक्त भए तापनि स्वास्थ्य अवस्था र शल्यक्रिया गर्नुपर्ने आवश्यकताका कारण उनी अस्पतालमै बसिरहेका थिए। अहिले उनको अवस्था स्थिर रहेको बुझिएको छ।

