रुपन्देही–३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो उम्मेदवार डा. लेखजंग थापाको रुपमा टुंगो लगाएको छ। पार्टीले आन्तरिक निर्वाचन प्रक्रिया र विभिन्न चरण पूरा गरेर आज उम्मेदवारको घोषणा गरेको हो।
उम्मेदवार बन्न इच्छुक ९ जनाले आवेदन दिएका थिए। आवेदन दिने अन्तिम मिति ७ साउन २१ गते रहेको थियो। आवेदकहरुमा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा। लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्याल रहेका थिए। रास्वपाले प्रत्येक उम्मेदवारबाट २५ हजार रुपैयाँ आवेदन शुल्क पनि लिएको थियो।
पार्टी सहमहामन्त्री विपीन आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन गरिएको थियो। प्राइमरी निर्वाचनमा विजयी भई उम्मेदवार बनेका डा. थापा सिद्धार्थनगर–९, अञ्चलपुरका हुन्। उनी वरिष्ठ न्युरोलोजिस्ट हुन् र चिकित्सक तथा सामाजिक सेवामा १७ वर्ष बिताइसकेका छन्।
पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमडी इन्टरनल मेडिसिन र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डीएम न्युरोलोजी अध्ययन गरेका थापाले अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा ‘सेफ्टी क्वालिटी लिडरसिप एण्ड इन्फर्मेटिभ’ पनि अध्ययन गरेका छन्। उनी नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष हुन् र उनका पहलमा राष्ट्रिय स्ट्रोक उपचार व्यवस्थापन प्रोटोकल स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको थियो।
पछिल्लो समय डा. थापा देशको विकास, सामाजिक न्याय र समृद्धिको माध्यमका रूपमा राजनीतिमा सक्रिय भएका छन् र रास्वपा मार्फत राजनीतिमा प्रवेश गरेका छन्। उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ।

