नेपालगन्ज: नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) ले वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल जस्ता संस्थाहरूले औषधि प्रतिनिधि (Medical Representatives) हरूलाई कार्यसमयमा प्रवेश रोक लगाएको र चिकित्सकहरूलाई औषधिको जेनेरिक नाम मात्र लेख्न अनिवार्य गरेको निर्णयप्रति कडा आपत्ति जनाएको छ। संघले यस कदमलाई पेसागत मर्यादा र संवैधानिक हक विपरीत भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखी गम्भीर ध्यानाकर्षण गराएको छ। अस्पताल प्रशासनका यस्ता निर्णयहरू प्रचलित कानुनसँग बाझिएको संघको दाबी छ।
संघले उठाएका मुख्य बुँदाहरूमा संविधानको धारा १७ ले दिएको पेसा र रोजगार गर्ने स्वतन्त्रताको हनन भएको उल्लेख छ। यस प्रतिबन्धका कारण देशभरका १० हजारभन्दा बढी औषधि प्रतिनिधिहरू र उनीहरूमा आश्रित करिब ५० हजार परिवारको जीविकोपार्जनमा संकट आउने चेतावनी दिइएको छ। साथै, जेनेरिक नाममा मात्र औषधि लेख्न बाध्य पार्दा गुणस्तरको ग्यारेन्टी नहुने र चिकित्सकले आफ्नो अनुभवका आधारमा गुणस्तरीय ब्रान्ड सिफारिस गर्न पाउने अधिकार कुण्ठित हुने संघको तर्क छ।
मन्त्रालयलाई बुझाइएको अपिलमा समस्याको समाधानका लागि अस्पतालको सेवामा अवरोध नहुने गरी निश्चित ‘भिजिटिङ आवर’ (भेटघाटको समय) तोक्न माग गरिएको छ। परिचयपत्रका आधारमा मर्यादित रूपमा काम गर्ने वातावरण मिलाउन, चिकित्सकको सिफारिस गर्ने स्वतन्त्रता कायम राख्न र औषधि प्रतिनिधिको पेसागत सुरक्षाको ग्यारेन्टी गर्न संघले सरकारसँग जोडदार माग गरेको छ। मागहरू सम्बोधन नभए यसले समाजमा बेरोजगारी र अराजकता निम्त्याउन सक्ने भन्दै संघले सचेत गराएको छ।


