काठमाडौं, २९ चैत ।  नेपाल सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे तापनि स्वास्थ्य सेवा जस्तो अत्यावश्यक क्षेत्रलाई निर्वाध रूपमा सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष पहल सुरु गरेको छ। मन्त्रालयले हालै एक प्रेस विज्ञप्ति जारी गर्दै आइतबारको बिदाका दिन पनि बिरामीको सुविधाका लागि ओपिडी सेवा सञ्चालन गर्ने अधिकांश अस्पतालहरूलाई धन्यवाद ज्ञापन गरेको छ। नागरिकको स्वास्थ्योपचार पाउने अधिकारलाई सर्वोपरि ठान्दै सेवालाई थप सहज र प्रभावकारी बनाउन मन्त्रालय प्रतिबद्ध देखिएको छ।

प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार, मन्त्रालयले स्वास्थ्यकर्मी तथा चिकित्सकहरूका चासो र मर्कालाई पनि नजिकबाट नियालिरहेको छ। सेवा प्रवाहलाई व्यवस्थित, सन्तुलित र दिगो बनाउनका लागि आवश्यक कार्यविधि तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ। स्वास्थ्यकर्मीहरूको विश्रामको अधिकारलाई सुनिश्चित गर्दै अस्पतालको सेवालाई कसरी निरन्तर राख्न सकिन्छ भन्ने विषयमा मन्त्रालयले सकारात्मक पहल गरिरहेको र यसका लागि सबै सरोकारवालाहरूसँग समन्वय भइरहेको विज्ञप्तिमा स्पष्ट पारिएको छ।

उक्त कार्यविधि पूर्ण रूपमा तयार भई कार्यान्वयनमा नआउन्जेलसम्मका लागि उपलब्ध जनशक्ति र कार्यभारको आधारमा स्वास्थ्य सेवा व्यवस्थापन गर्न मन्त्रालयले सम्पूर्ण अस्पतालहरूलाई अनुरोध गरेको छ। स्वास्थ्यकर्मीको हकहित र नागरिकको उपचार पाउने अधिकारबीच उचित सन्तुलन कायम गरी चरणबद्ध रूपमा नयाँ व्यवस्था लागू गरिने मन्त्रालयको योजना छ। आगामी दिनमा पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरूबाट निरन्तर सहयोग, समन्वय र सहकार्यको अपेक्षा गर्दै मन्त्रालयले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने दृढता व्यक्त गरेको छ।

 प्रकाशित :-  २०८२ चैत्र २९, आईतबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय