काठमाडौँ, २५ चैत । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा आज शुक्रबारदेखि काठमाडौँमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको १२ औँ शिखर सम्मेलन सुरु हुँदैछ। परिषद्ले आफ्नो स्थापना दिवसको अवसरमा सन् २०१५ देखि निरन्तर गर्दै आएको यो सम्मेलन यस पटक पनि सोल्टी होटलमा आगामी आइतबार (२९ चैत) सम्म सञ्चालन हुनेछ। सम्मेलनको उद्घाटन प्रमुख अतिथि उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गर्ने कार्यक्रम तय भएको छ।

यस वर्षको सम्मेलनको मुख्य नारा “नेपालमा स्वास्थ्य अनुसन्धान सुशासनका लागि प्रमाणमा आधारित निर्णय तथा कार्यान्वयन प्रक्रिया” तय गरिएको छ। परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीका अनुसार नीति निर्माता, अनुसन्धानकर्ता, उद्यमी र विकास साझेदारहरूलाई एउटै मञ्चमा ल्याएर नवीन प्रमाणहरू साझा गर्ने र जिम्मेवार अनुसन्धान संस्कृतिको प्रवर्द्धन गर्ने सम्मेलनको मुख्य लक्ष्य रहेको छ। सम्मेलनमा बेलायत, अमेरिका, भारत, फिलिपिन्स, अष्ट्रेलिया लगायतका देशका विज्ञहरूसहित १,२०० भन्दा बढीको सहभागिता रहने बताइएको छ।

सम्मेलनका लागि प्राप्त ४६५ वटा एब्स्ट्रयाकहरू मध्ये ९१ वटा मौखिक र १२० वटा पोस्टर प्रस्तुतीकरणका लागि छनोट गरिएका छन्। तीन दिनसम्म चल्ने सम्मेलनमा ३५ वटा आमन्त्रित प्रस्तुतीकरण, १२ वटा समानान्तर सत्र र ५ वटा प्यानल छलफलहरू हुनेछन्। यी सत्रहरूमा नसर्ने रोग, मानसिक स्वास्थ्य, कृत्रिम बुद्धिमत्ता (AI), जलवायु परिवर्तन, महामारी तयारी र आयुर्वेद लगायतका विविध विषयमा गहन छलफल हुने परिषद्ले जनाएको छ।

 प्रकाशित :-  २०८२ चैत्र २७, शुक्रबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय