काठमाडौं, २७ चैत । नेपाल मेडिकल काउन्सिलले विद्यार्थी भर्ना शुल्क बापतको बाँकी बक्यौता रकम भुक्तानी नगर्ने शिक्षण संस्थाहरूलाई अन्तिम चेतावनी दिएको छ। काउन्सिलले एक सूचना प्रकाशित गर्दै स्नातक र स्नातकोत्तर तहको अध्यापन गराउने स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल तथा डेन्टल कलेजहरूलाई पटक–पटक ताकेता गर्दा पनि बक्यौता रकम बुझाउन आलटाल गरेको जनाएको छ ।

परिषद्को पूर्ण बैठकको निर्णयानुसार यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र अनिवार्य रूपमा बाँकी रकम बुझाउन कडा निर्देशन दिइएको छ । निर्धारित समयसीमा भित्र बक्यौता राफसाफ नगर्ने कलेजहरूमाथि काउन्सिलले कडा कारबाही गर्ने संकेत गरेको छ। समयमा भुक्तानी नगर्ने संस्थाहरूको तर्फबाट हुने विद्यार्थीहरूको परीक्षा दर्ता र विदेशी चिकित्सक शिक्षकहरूको दर्ता प्रक्रिया समेत रोक्का गरिने सूचनामा उल्लेख छ। यसका साथै, अटेर गर्ने कलेजहरूको नाम र उनीहरूले बुझाउन बाँकी रहेको विवरण समेत सार्वजनिक गरिने काउन्सिलले स्पष्ट पारेको छ । हाल काउन्सिलले बाँसबारी, काठमाडौँस्थित आफ्नो कार्यालयमार्फत यस प्रक्रियालाई अगाडि बढाएको छ ।

 प्रकाशित :-  २०८२ चैत्र २७, शुक्रबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय