काठमाडौँ, २० चैत ।
पूर्व स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतमले आफ्नो कार्यकाल छोटो भएतापनि आयुर्वेद क्षेत्रको विकास र सुधारका लागि महत्वपूर्ण नीतिगत आधारहरू तयार पारेको बताउनुभएको छ। नेपाल आयुर्वेद चिकित्सक संघको ११ औँ राष्ट्रिय सम्मेलनको अवसरमा बोल्दै उहाँले परम्परागत चिकित्सा प्रणालीलाई आधुनिक स्वास्थ्य प्रणालीसँग जोड्न आवश्यक रहेकोमा जोड दिनुभयो।
नेपाल आयुर्वेद चिकित्सक संघको ११ औँ राष्ट्रिय सम्मेलन आजदेखि संघीय राजधानी काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केटमा भव्यताका साथ सुरु भएको छ। देशभरका आयुर्वेद चिकित्सकहरूको साझा संस्थाको रूपमा रहेको यस संघले आफ्नो नीतिगत रणनीति र पेसागत विकासका लागि दुई दिने सम्मेलन आयोजना गरेको हो।
आयुर्वेद चिकित्सक समाजका अध्यक्ष पुर्णेश्वर केशरीले संघको आगामी नेतृत्व चयन गर्दा आपसी सहमति र सहकार्यका आधारमा हुनुपर्नेमा जोड दिनुभयो। साथै, आरोग्य दिवस स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित भएकाले यसलाई मन्त्रालयले नै औपचारिक रूपमा मनाउनुपर्ने माग समेत राख्नुभयो।
दुई दिने सम्मेलनको कार्यतालिका
संघकी महासचिव डा. कोपिला अधिकारीका अनुसार यो राष्ट्रिय सम्मेलन दुई दिनसम्म चल्नेछ। सम्मेलनमा देशभरबाट सहभागी आयुर्वेद चिकित्सकहरूले कार्यपत्र प्रस्तुत गर्ने, पेशागत चुनौतीका बारेमा छलफल गर्ने र नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम रहेको छ।
आयुर्वेद क्षेत्रको समयानुकूल विकास, ऐन संशोधन र चिकित्सकहरूको वृत्ति विकासका लागि यो सम्मेलन एउटा कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ।

