काठमाडौं, १९ चैत । आज बिहीबारदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ बजे एकै समय एसईई परीक्षा सुरु हुनेछ।

यही चैत २९ गते सम्पन्न हुने एसईई परीक्षामा यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुनेछन्। परीक्षाका लागि देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरेको छ भने माध्यमिक तह अध्यापन हुने देशभरका ११ हजार ३७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।

परीक्षा नियन्त्रण कार्यालयले सातै प्रदेशका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रश्नपत्र सम्बन्धित केन्द्रमा पठाइसकिएको छ। परीक्षाको सुरक्षाका लागि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारीको व्यवस्था गरिएको बोर्डले जनाएको छ।

शैक्षिक क्यालेन्डरअनुसार चैतको पहिलो साता हुनुपर्ने परीक्षा प्रतिनिधिसभा निर्वाचनका कारण केही समय धकेलिएर भोलि चैत १९ गते बिहीबारदेखि सुरु हुन लागेको हो। परीक्षालाई शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न बोर्डले विद्यार्थी, अभिभावक र सरोकारवाला सबैमा अपिल गरेको छ।

 प्रकाशित :-  २०८२ चैत्र १९, बिहिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय